• १९ फागुन २०८२, मङ्गलबार

अत्यावश्यक वस्तुको आपूर्ति सहज राख्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १९ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।  मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीको अध्यक्षतामा सोमबार बसेको बैठकले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो । 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुनको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले अत्यावश्यक वस्तुको मौज्दात राख्न र वितरण प्रणाली नियमित राख्न निर्देशन दिइएको जानकारी दिनुभयो । चुनावको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन गर्नसमेत निर्देशन दिइएको उहाँले बताउनुभयो । मन्त्रालयले उपभोक्तालाई इन्धन आपूर्ति सहज बनाउन सार्वजनिक बिदामा समेत डिपोहरू खोल्ने व्यवस्था र इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग समन्वय गरी हाल भइरहेको आयात र वितरण थप व्यवस्थित तुल्याउन निगमलाई निर्देशन दिएको जनाएको छ ।

यस्तै पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्ति नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न पनि मन्त्रालयले उपभोक्तालाई आग्रह गरेको छ । खाद्यान्न तथा नुनको सहज आपूर्तिका लागि खाद्य कम्पनी र साल्ट्र टे«डिङ कर्पोरेसनलाई अत्यावश्यक खाद्यान्न तथा नुनको सहज आपूर्ति व्यवस्थालाई निरन्तरता दिने र आफूमातहतका गोदाममा मौज्दातको विवरण सङ्कलन तथा अद्यावधिक गर्नसमेत निर्देशन दिइएको छ । 

बजारमा अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन नियमित अनुगमन प्रक्रिया प्रभावकारी बनाउन वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । सार्वजनिक बिदाका दिनसमेत आयातनिर्यात कार्य सञ्चालन गर्न निर्देशन दिइएको छ । आपूर्ति व्यवस्था सहज तुल्याउन सार्वजनिक बिदाका दिनमा समेत आयातनिर्यात प्रक्रियामा सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ । बजार अनुगमन तथा आपूर्ति व्यवस्थामा सहजीकरण र सहयोगका लागि स्थानीय प्रशासन परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

पेट्रोलियम पदार्थ अभाव नहुने

इरानमा भएको आक्रमणले पेट्रोलिय पदार्थ आपूर्तिमा असर नपर्ने भएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले तीन महिनासम्मका लागि क्रुड आयल भण्डारण गरेको र अन्य देशबाट समेत इन्धन आयात गर्ने भएकाले अभाव नहुने निगमले जनाएको हो । 

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नेपालमा पेट्रोलियम पदार्थ अभाव नहुने जानकारी दिनुभयो । आइओसीले नियमित रूपमा तेल वितरण गर्दा नेपाली बजारमा कुनै अभाव नहुने जानकारी उहाँले दिनुभयो । निगमसँग पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको र पाइप लाइनबाट नियमित रूपमा पेट्रोलियम पदार्थ आयात हुने भएकाले पनि युद्धको असर नेपालमा तत्काल नपर्ने भट्टले जानकारी दिनुभयो ।  निगमसँग १० देखि १५ दिनसम्म पुग्ने इन्धनको भण्डारण छ । आइतबार उपत्यकाका पेट्रोल पम्पमा तेल भर्ने उपभोक्ताको लामो लाइन लागेको थियो । निर्वाचनमा घर जान र सार्वजनिक बिदाका कारण पेट्रोल पम्प बन्द हुने आशङ्काले उपभोक्ता तेल भर्न जाँदा पम्पमा लामो लाइन लागेको निगमले जनाएको छ । सोमबार उपत्यकाका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा कुनै समस्या नदेखिएको निगमले उल्लेख गरेको छ । निगमले सार्वजनिक बिदाका दिनमा समेत डिपो खुला गरी पेट्रोलियम पदार्थ वितरण गर्ने जनाएको छ ।