• १२ असोज २०८१, शनिबार

पुल बनेपछि जोडियो सदरमुकामसँग रोशीजैदु

blog

सवारी साधन चल्ने पुलको उदघाटन गर्दै मेयर नाम्गेलजाङ्बु शेर्पा । तस्बिर : सन्तोष राउत

सन्तोष राउत

सोलुखुम्बु, पुस ३ गते । बत्तीमुनिको अँध्यारो भनेजस्तै विकासमा पछि परेको सोलुखुम्बुको सदरमुकाम वडाको एउटा गाउँ सोलुदूधकुण्ड नगरपालिका –५ को रोशी र जैदुक्षेत्र सदरमुकाम सल्लेरीसँग सडक सञ्जालमा जोडिएको छ । सदरमुकाम सल्लेरीको सामुन्नेमा पर्ने सो गाउँ जोड्ने गाडी चल्ने पुल बनेपछि आवतजावत सुरु भएको हो ।

पुल बनेपछि खुसी हुँदै स्थानीय नरेश बस्नेतले भन्नुभयो, “काठे पुल, झोलुङ्गे पुल हुँदै सवारी साधन चल्ने पुल बनेर यातायातका साधन सञ्चालनमा आउँदा खुसी लागेको छ, पुल सडकका लागि मेरुदण्ड भएकाले निर्वाचनताका गरेका बाचा पूरा गर्दै पुल सञ्चालन गर्ने नगरपालिकालाई धन्यवाद छ ।”

सोलुदूधकुण्ड नगरपालिकाले सोलुखोलामा चार करोड ६६ लाख ५९ हजार ५९२ रुपियाँको लागतमा ४२.५ मिटर लामो बेलिब्रिजको उद्घाटन गर्दै नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले स्थानीय सरकार नआउँदासम्म सदरमुकामको विकास टुलुटुलु हेरेर बस्न बाध्य रोशीजैदुबासीलाई प्राथमिकतामा राखेर विकास गरेको बताउनुभयो ।

यसअघि विधुत र सडकको काम सकेर सिधा आवागमनका लागि नगरपालिकाको एकल लगानीमा पुल तयार गरेको प्रमुख शेर्पाले बताउनुभयो । आफ्नो अघिल्लो कार्यकालदेखि अहिलेसम्म नगरक्षेत्रका टोलटोलमा सडक पुगेको र दर्जन हाराहारीमा गाडी चल्ने पुल तयार भएको उहाँले जानकारी दिनुभयो । 


ग्रामीण विधुतीकरण तथा अन्य पूर्वाधारका क्षेत्रमा समेत उल्लेख्य काम भएको दाबी गर्दै प्रमुख शेर्पाले अघिल्लो कार्यकालमा भएको कामलाई हेरेर जनताले दोस्रो कार्यकालका लागि अनुमोदन गरेकाले नगरको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

त्यसअवसरमा उपप्रमुख गान्धीमाया तामाङले जनताको विकासमा नगरपालिका टिम अहोरात्र खटेको  धारण राख्नुभयो । वडा ५ का अध्यक्ष मिङमार तामाङले सदरमुकामको कर्णाली भनिने यस गाउँलाई जोड्ने पुल निर्माणमा नगरपालिकाले महत्त्वपूर्ण योगदान गरेकाले अब बाह्रै महिना सहज हुने बताउनुभयो ।

दावा निर्माण सेवा कम्पनी काठमाडौंले विसं. २०७६ कात्तिक १४ गते सम्झौता गरी निर्माण सुरु भएको पुल कोरोनाका कारण केही ढिलोगरी सम्पन्न भएको छ । पुलको भारवहन क्षमता ५० टन र तौल ७८.३६५ टन रहेको छ । पुल उद्घाटन भएसँगै स्थानीय नागरिकहरूले खुसी व्यक्त गर्दै सडकलाई थप स्तरोन्नतिको माग गरेका छन् ।