• १३ साउन २०८१, आइतबार

थारु सङ्ग्रहालय महोत्तरीकाे भंगहामा बन्ने

blog

गाेरखापत्र अनलाइन

महोत्तरी, पुस ३ गते । भंगहा नगरपालिका–७ मा थारु सङ्ग्रहालय बन्ने भएको छ । थारु सङ्ग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु सङ्ग्रहालय निर्माण गर्ने घोषणा गर्नुभएको छ । 

मन्त्री चौधरीले भन्नुभयो, ‘‘कला, संस्कृतिमा सम्पन्न थारु जातिको इतिहास जोगाउन जरुरी छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरूले नेपाली भूमिको समेत सुरक्षा गरेका छन् । तपाईँहरू सङ्ग्रहालयको गुरुयोजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु ।’’


थारु समुदायलाई दैनिक क्रियाकलापपछि राजनीतिमा अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदिपकुमार चौधरीले सङ्ग्रहालय बनाउन मन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

‘‘करिब ८ बिघामा बन्ने सङ्ग्रहालयमा थारु भेषभुषा, संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शनी हुनेछ । थारु खानाका परिकारहरू उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ । विभिन्न पर्वहरू, उत्सवहरू मनाउने व्यवस्था हुनेछ । यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्नेछ ।’’ उत्साहित हुँदै उहाँले बताउनुभयो ।

थारु सङ्ग्रहालय भवन निर्माणको लागि अनुमानित बजेट छ करोड रुपियाँ हुने बताइएको छ ।