विनय कर्ण
कल्याणपुर (सप्तरी),फागुन २४ गते । दोहोरिएर चुनाव नजित्ने इतिहास बोकेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ले यसपालिको प्रतिनिधिसभा निर्वाचनमा पनि विगतकै इतिहासलाई निरन्तरता पाएको छ। यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामजी यादव विजयी हुनुभएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतगणना परिणाम अनुसार उहाँ २८ हजार ४०४ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार उमेशकुमार यादवले १४ हजार २६३ मत प्राप्त गर्नुभयो। निकटतम प्रतिद्वन्द्वी उमेशलाई रामजीले १४ हजार १४१ मतान्तरले पराजित गर्नुभएको हो।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरी विजयी हुनुभएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नौ हजार ८८० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित हुनुभएको छ।
२०५६ सालयता सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट कुनै पनि उम्मेदवार दोहोरिएर जित्न सकेका छैनन्। यो जितसँगै सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्वीप गरेको छ। क्षेत्र नम्बर १ मा पुष्पाकुमारी चौधरी, ३ मा अमरकान्त चौधरी र ४ मा सीताराम साह विजयी हुनुभएको छ।