चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २४ गते । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) को अग्रता रहेको छ। हालसम्मको परिणाम अनुसार छ हजार ७२४ मतसहित एमालेले अग्रता बनाएको हो।
समानुपातिकतर्फ नै हालसम्मको परिणाम अनुसार श्रम संस्कृति पार्टी दोस्रो स्थानमा देखिएको छ। सो पार्टीले पाँच हजार २०९ मत प्राप्त गरेको छ। यस्तै पाँच हजार १९७ मतसहित नेपाली कांग्रेस तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार हजार ६४६ मतसहित चौथो स्थानमा रहेको छ।
पाँचौँ स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले तीन हजार ४५९ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी २९२ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २३८ मतसहित क्रमशः छैटौँ र सातौँ स्थानमा रहेका छन्। समानुपातिकतर्फ हालसम्मको मतगणना अनुसार ५५ वटा दलले मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो २:१५ बजेसम्म २८ हजार २३६ मत गणना भइसकेको छ। गणना भएको उक्त मतमध्ये २६ हजार ९२५ मत सदर हुँदा एक हजार ३११ मत बदर भएको छ। जिल्लामा समानुपातिकतर्फ करिब ४८ हजार मत खसेको अनुमान गरिएको छ।
यता ताप्लेजुङमा प्रत्यक्षतर्फ नेकपा (एमाले) का क्षितिज थेबे १३ हजार ९६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गर्नुभयो। तुम्याहाङलाई दुई हजार २५१ मतान्तरले पराजित गर्दै थेबे निर्वाचित हुनुभएको हो।
प्रत्यक्षतर्फ तेस्रो मत नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री (पराग) ले छ हजार ७७५ मत प्राप्त गर्नुभयो। त्यस्तै श्रम संस्कृति पार्टीका सन्तोष राईले पाँच हजार २९५ मत प्राप्त गर्नुभयो। विजयी थेबे, निकटतम प्रतिद्वन्द्वी तुम्याहाङ, बुडाक्षेत्री र राईले मात्र जमानत जोगाउनुभएको छ। पाँचौँ स्थानमा चार हजार १५५ मत प्राप्त गर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठको भने जमानत जफत भएको छ।
जिल्लामा १३ राजनीतिक दलका उम्मेदवारले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका थिए। यहाँ प्रत्यक्षतर्फ कुल ४५ हजार ५८३ मत खसेको थियो। खसेको कुल मतमध्ये ४२ हजार ८९७ मत सदर हुँदा दुई हजार ६८६ मत बदर भएको छ।