निराजन परियार
चौमाला (कैलाली),फागुन २४ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ती उम्मेदवारहरूको धरौटी जफत भएको हो। कैलाली–४ मा कुल ५८ हजार २८३ मत सदर भएको थियो। धरौटी जोगाउन कम्तीमा पाँच हजार ८२९ मत ल्याउनुपर्नेमा नेकपाका उम्मेदवार उत्सवले पाँच हजार ६०९ मत मात्र प्राप्त गर्नुभयो।
फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाका उत्सवसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवार, नागरिक उन्मुक्ति पार्टीका धनबहादुर सुनार, श्रम संस्कृति पार्टीका भीमबहादुर थापा मगर, स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्ट खत्री, नेकपा (माओवादी) का भक्तबहादुर शाही, उज्यालो नेपाल पार्टीका सुभाष कुँवर, नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोट, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट, नेसनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, नेपाल मजदुर किसान पार्टीकी अमृता भूसाल, नेकपा (संयुक्त) का मोहनदेव मिश्र र मितेरी पार्टी नेपालका दिनेशकुमार मल्लको धरौटी जफत भएको छ।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी हुनुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गर्नुभएको थियो। यस्तै, नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले नौ हजार ४४४ मत पाएर आफ्नो धरौटी जोगाउन सफल हुनुभएको छ।