• ८ मंसिर २०८१, शनिबार

उसको बाउ (कथा)

blog

उसको बाउलाई मैले उसलाई भेट्न आउँदा देखेको थिएँ । पहिले त यस्तो लाग्यो, यो मानिस उसको गाउँको एक जना हुनुपर्छ जो उसलाई भेटेर केही काम निकाल्न सहर आएको छ, जस्तै छोरालाई विदेश पठाइदिन सिफारिस वा घरखेत लेखाएर रिन दिनका लागि । पछि बुझ्दै जाँदा ऊ त उसकै बाउ पो रहेछ । अनि मलाई खसखस लागेर सोधिहालेँ, ‘तपाईं उसको बाउ हो भन्ने पक्का छ ?’ उनले ओठमा एउटा पीडादायक मुस्कान ल्याएर मलाई भने, ‘हो, अब यस्तो अवस्थामा उसको बाउ हुँ भनेर कसले पत्याउँछ ? छोरो यस्तो छ ।’ मैले सोचेको पनि त्यही थियो । सहरमा रज्जगज्ज अवस्थाको छ ऊ । बाउचाहिँ एउटा कछाडमा बेरिएर आएको छ गाउँबाट । बाउ सोझा र सरल लागे तर उसको धूर्तता हेर्दा ऊ यो मानिसको छोरा हो भन्न सुहाउँदैनथ्यो । मलाई लागेको कुरो । तर वास्तविकता यही थियो ।

उसको बाउ यही मानिस हो भन्ने पक्का भएपछि मैले आदरसाथ बोल्नु पर्ने भयो । किनभने म उसको छोराको प्रतिष्ठानको कर्मचारी थिएँ । भोलि बूढोले छोरासित मेरो बेअदबीको व्यवहारबारे बयान गरिदियो भने म कामबाट निकालिनेछु । अचेल बेरोजगारी धेरै छ । एयरपोर्टमा युवा विदेश जान लाइन लागेका छन् । बिजोग छ । त्यस्तोमा मेरो जागिर छुट्नु भनेको भयावह हुने थियो । मैले त्यस कारण बूढालाई फकाएर सोधेँ, ‘‘बा, हजुर किन यता आउनुभो ? छोरालाई फोन गरे मात्रै पुग्ने थियो ।’’ बूढाले मैले बा भनेर गरेको सम्बोधनले चाउरी परेका गालामा तरर्र आँसु बगाए । ‘‘हुने थियो बाबु । हेर्नोस्, उसले मलाई बा भनेर बोलाएको सुन्न नपाएको एक जुग भइसक्यो । घर छाडेर हिँडेदेखि ऊ गाउँ फर्केको होइन ।’’ गाउँ नफर्कने कुरो त सामान्य नै हो बा भन्न मन लागेको थियो मलाई । गाउँका खेतबारी बाँझै छन् र गाउँमा युवाको खडेरी परेको कुरो सामान्य नै भइसकेको छ मुलुकका लागि । तर यो मानिस जो मेरो मालिक थियो र यस बूढाको छोरो थियो, ऊ किन एक पटक पनि गाउँ फर्केन ? उसको बाआमा त जिउँदै छन् । आमाको त थाहा भएन । तर बा त अहिले उसैलाई भेट्न उसको निवासअगाडि आइपुगेका छन्, नाम र ठेगान सोध्दै । 

मलाई पनि सम्झना भयो, म पनि एक पटक गाउँ फर्केर जान सकेको छैन । सकेको छैन होइन, जाने मनै गरेको छैन । सहरी सङ्घर्षमा व्यस्त छु । यतै बिहे गरियो जोरजाम गरेर र अहिले छोरालाई अङ्ग्रेजी मिडियमको स्कुलमा पढाउन हालिएको छ । फिस र अन्य खर्च नै धान्न मुस्किल छ । बाँच्ने कसरी हो ? महँगी बढेको बढ्यै छ । मालिक तलब बढाउन राजी हुँदैन । भन्छ, ‘‘व्यापारमा घाटा छ ।’’ उसको उद्योग पनि छ । त्यसबारे पनि भन्छ, ‘‘उद्योग पनि बन्द हुनेवाला छ ।’’ सबैतिरबाट चेपुवामा परिएको छ । गाउँ जाने कुरो नै छैन । गाउँबाट कहिलेकाहीँ फोन आउँछ– ‘‘छोरा एक पटक गाउँ आइज । आमाले तेरो मुख नहेरी मरिने भो भन्दै छिन् ।’’ फोन बाउ बूढाको हुने गर्छ । भाइहरू पनि तितरबितर छन्, आआफ्नै धन्दामा । मनमा यो क्लेश त छ, गाउँ जान सकिएन । तर यो बूढो जो मालिकको बाउ हो ऊ किन यसरी धाएरै छोरो भेट्न आएको छ ? प्रश्न मेरो मनमा बिझाएको छ । 

बूढाले भने, ‘‘बाबु सानोमा मर्छ कि भनेर जतनले पालियो । ठूलो भएपछि छोडेर गयो भन्ने क्लेश बोकेर गाउँमा बसिएको छ । एक पटक पनि बाआमा मरेबाँचेको खबर लिन गाउँ फर्केको होइन । हामी पुरानो समयका बूढाबूढी हौँ । अहिले गाउँसम्म केही नभए पनि खाल्डाखुल्डी भएको बाटो सही सडक त पुगेको छ । ठूलो मानिस भएको छोरो आफ्नै गाडी चढेर हामीलाई लिन आउला कि भन्ने आस पनि थियो ।’’ बूढाले अरू पनि भन्न चाहेका थिए । बीचैमा कुरा काटे । कुनै अनिष्ट खबर उनले मलाई सुनाउन सकेनन् । छोरालाई नै भेटेर सुनाउने हुन् कि भन्ने अनुमान गरेँ । मैले भनेँ, ‘‘तपाईं आएको खबर भित्र पठाउनुभो ?’’ बाहिर मालिकले हायर गरेको एउटा एजेन्सीको सेक्युरिटी गार्डले पहरा दिइरहेको थियो । ‘‘खै भित्र जानै दिएन ।’’ बूढाले गार्डतिर औँल्याएर भने । ऊ मन्त्री हुने चर्चा थियो । 

बाहिरफेरको चर्चा । 

कुनै उपाय लगाएर ऊ सत्तापक्षले नियुक्त गर्ने अनिर्वाचित छ महिने मन्त्री खानेवाला थियो । कारण यो थियो, मुलुकका लागि ऊ जस्तो दूरदर्शी र विचारवान् व्यक्तिको खाँचो थियो, जसले मुलुकको खस्कँदो आर्थिक अवस्थालाई उकास्न सकोस् । बूढाको छोराले अत्यन्तै उत्साहप्रद रूपमा प्रगति गरेको थियो । विद्वान् पनि कहलिएको थियो । तर बूढालाई थाहा हुन सकेको थिएन । बूढालाई मात्रै किन थाहा हुन सकेन ? गाउँका सोझासाझालाई मुलुकका धेरै कुरा थाहा हुन सकेको हुँदैन । छोरा मात्रैको प्रगतिको खबर नपाउनु आश्चर्य भएन । मैले सोचेँ । 

मैले गार्डलाई सोधेँ, ‘‘उहाँ आएको खबर भित्र गयो ?’’ हुन त म पनि भित्र नै जाँदै थिएँ । तर बूढालाई साथ लिएर जान धक लागिरहेको थियो । आदेश थियो– अपरिचितलाई साथमा नल्याउनू । सुरक्षाका दृष्टिले । बूढाको छोरालाई मारिहाल्ने खण्ड देखिँदैनथ्यो । तर अपहरण हुन सक्थ्यो । अचेल केही ठेगान छैन । मालिक स्वयंले भनेको थियो । गार्डले गर्दा बूढालाई भित्र जाने बाटो खुलेको थिएन । मैले गार्डलाई सोधेँ, ‘‘नाम ठेगाना त पठाएको छ, होइन ?’’ गार्डहरू पनि मानिस नै हुन् । बूढा मालिकको बाउ हुन् भनेर पत्याउन गारो मानिरहेका थिए तर भन्यो, ‘‘खबर गरिदिएको छ ।’’ भित्रबाट खबर नआउञ्जेल पर्खनै प¥यो । मैले चेकबुकमा साइन गराउनु थियो र भित्र गएँ । भित्र ऊ अर्कै काममा अति व्यस्त थियो । ‘‘आजलाई हुँदैन चेकमा साइन । भोलि आउनू ।’’ मलाई यस्तो भनियो । यसमा अटेरी गरेर थप तर्क गर्ने ठाउँ थिएन । ऊ मानिस कडा थियो । झोँक्की पनि । कुरैकुरामा भन्ने गर्छ, ‘‘अनुशासनबिना मैले यत्रो प्रतिष्ठान खडा गरेको होइन ।’’ 

बूढालाई मैले गेटमै भेटेँ । उनी एक छेउ लागेर टुसुक्क बसेका थिए । उनको छेउमा गएर भनेँ, ‘‘आज भेट्न गारो छ । फोनका फोन आइरहेछन् । भोलितिर पनि गारै छ ।’’ बूढा मेरो खबरले अकमकिए । भुइँमा टुसुक्क बसेकोबाट उभिए र निन्याउरो स्वरमा भने, ‘‘यसकी आमा मरेको खबर दिन आए पनि यसरी नै कुर्नुपर्ने गराउने हो कि क्या बाबु ? ठूलाबडा भइँदैमा बाउको बिजोग गर्नु हुँदैनथ्यो । तर अब फतफताए फाइदा छैन । सुत्नेखाने पनि कहाँ हो ? गाउँबाट ल्याएको खर्चपानी पनि सकियो । गरिबसित कति नै हुन्छ र ?’’ बूढाबूढीलाई कति सन्तानले पुलकै बीचमा छोडेर गएका खबर सुन्न र पढ्न पाइरहिन्थ्यो– बीचमा मैले सोचेँ ।  

मलाई बूढाका कुरा सुनेर अति नै मन दुख्यो । जाडाका दिन पनि सुरु हुँदै थिए । उनको बिजोग हुने देखेर केहीबेर सोचेँ र भनेँ, ‘‘जाऊँ न त मैकहाँ आजलाई ।’’ बूढाले एकछिन यताउता अलमलिने कुरा गरे । मैले कर गरेपछि अन्त्यमा राजी भए । मेरो कोठामा पनि खासै ठाउँ थिएन तर एक जनाका लागि जसरी पनि ठाउँ निकाल्न सकिएला भनेर बूढालाई साथमा ल्याएँ । बूढा बाटाभरि मौन रहेरै मसँग हिँडिरहे । उनी दुःखी देखिएको मैले अनुभव गरिरहेँ । एक ठाउँ उनी थामिए र भने, ‘‘शत्रुका छोरा पनि यस्ता नहोऊन् ।’’ 

मेरो छोराले पनि ठूलो भएपछि यस्तै गरी उपेक्षा गर्ने हो कि भन्ने सोचेर मन उदास भयो ।