मेरो जिन्दगीको जून सफा छ
तर, देख्नेले दाग देखिदिन्छन्
र, नजरको दोषी मलाई बनाउँछन् ।
जसलाई
नैतिकताको कखरा पढ्न
मैले चिनाइदिएको थिएँ विद्यालय
जसलाई
इमानको बन्दुक चलाउन
मैले नै हौस्याएको थिएँ
जसलाई
समर्पणको उपन्यास लेख्न
मैले आफ्नै मुटुमा
कलम चोप्ने अनुमति दिएको थिएँ ।
आफ्नै पसिना निचोरेर
मैले जसको प्यास मेटिदिएँ
आफ्नै भागको सपना चिथोरेर
मैले जसको आँखा रङ्गाइदिएँ ।
आफ्नै भान्छाको भकारी रित्याएर
जसको भोक घटाइदिएँ
आउन सक्ने
सबै चुनौतीसँग सामना गर्ने हिम्मतले
जसको पाइलामा आँखा जोडिदिएँ
ऊ
मेरै नियत, मेरै इमान
मेरै चरित्रमा हात छिराउँछ
र
आफ्नो बदनाम आवरणमा लागेको
दागको डीएनए पहिचान गर्न
अरूको अङ्ग सुँघ्दै हिँड्छ ।
ए दूधले नुहाएको मान्छे !
पख
जानुपूर्व– तिम्रा आरोपका ग्रहणमा
कसको छाया छ त हेरेर जाऊ ।