• १३ साउन २०८१, आइतबार

ग्रामीण पर्यटन र सुन्तला खेतीको प्रवर्द्धनका लागि कलकत्ताको महोत्सव

blog

तस्बिर – नेपाली ढाका टोपीमा भारतका केन्द्रीय मन्त्री ।

विष्णुप्रसाद पोखरेल

दमक (कलकत्ताबाट फर्केर), मङ्सिर २८ गते । हिमालय भेगको ग्रामीण पर्यटन र सुन्तला खेतीको प्रवर्द्धनका लागि भारतको कलकत्तामा भएको पाँचौँ हिमालयन सुन्तला महोत्सव अपेक्षाकृत रुपमा सफल भएको छ ।

पश्चिम बङ्गालको राजधानी कलकत्तामा भएको महोत्सवमा राज्य सरकारका उच्च अधिकारीहरुको उपस्थितिले यसको महत्वलाई धेरै बढाएको महोत्सवमा नेपालतर्फका  संयोजक अर्जुन कार्कीले बताउनुभएको हो ।

मङ्सिर २३ गतेदेखि २५ गतेसम्म भएको महोत्सवसँगै मानव हात्ती द्वन्द्व कम गर्ने, नेपालको पूर्वी क्षेत्रलाई कृषि, धार्मिक र जैविक पर्यटनसँग जोडेर लैजाने विषयमा छलफल भएको पनि उहाँले जनाउनुभएको छ । 

नेपाल र भारतको पर्यटन प्रवर्द्धनसँगै सुन्तला खेती प्रवर्द्धनका लागि संयोजनकारी भूमिका खेल्नुभएका राज बासुका अनुसार दक्षिण एसियाकै सबैभन्दा ठूलो ग्रामीण पर्यटन महोत्सवको रुपमा यसलाई निरन्तरता दिइएको छ । 


नेपाल र भारतका दुई हजार ८०० भन्दा बढी ‘होम स्टे’ को प्रतिनिधित्व यहाँ भएको बासुले जनाउनुभयो । १७ सय भन्दा बढी सांस्कृतिक झलकहरु यहाँ देखाइएको उहाँको भनाइ छ । 

महोत्सवमा सुन्तलासहित अलैँची, छुर्पी, एभोकाडोलगायतका करिब दुई हजार ग्रामीण उत्पादनहरु प्रदर्शन र विक्रीका लागि राखिएको उहाँले जानकारी दिनुभयो ।

कलकत्तामा रहनुभएका नेपालका महावाणिज्यदूत एकनारायण अर्यालका अनुसार यो महोत्सवले ग्रामीण पर्यटन प्रवर्द्धनसहित नेपालको सांस्कृतिक पहिचान र प्रवर्द्धनमा ठूलो टेवा मिलेको छ । 

होटल व्यवसायी महासङ्घ प्रदेश १ का अध्यक्ष राजन दंगालका अनुसार यस प्रकारको महोत्सवले पूर्वी नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।