• ९ मंसिर २०८१, आइतबार

तयार भयो म्याग्दी र बागलुङ जोड्ने पुल

blog

अमृतप्रसाद पौडेल 

म्याग्दी, मङ्सिर २७ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिकाको कुँडुले जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भएको भए पनि प्राविधिक परीक्षण र हस्तान्तरणको काम बाँकी छ ।

बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल तयार भएसँगै पुल अवलोकन गर्न आन्तरिक पर्यटकहरुको भीड लागेको छ । बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेकबहादुर थापाले पुल निर्माण सँगै स्थानीयलाई सहज भएको बताउनुभयो । झोलुङ्गे पुल निर्माणपछि, ‘डेढ घण्टाको यात्रा १० मिनेटमा छोटिएको छ, उहाँको भनाइ छ ।

प्राविधिक परीक्षण रिपोर्टपछि पुल हस्तान्तरण हुने उहाँको भनाइ छ । म्याग्दीका तत्कालीन प्रतिनिधिसभा सांसद भूपेन्द्रबहादुर थापाको पहलमा तीन करोड ५० लाख रुपियाको लागतमा पुल निर्माण भएको वडा अध्यक्ष थापाले बताउनुभयो ।


गतवर्ष रत्नेचौरदेखि कुँडुले जोड्न डोढेनी खोलामाथि म्याग्दी जिल्लाकै अग्लो र लामो पुल निर्माणकार्य थालिएको थियो । पुलको छेउछाउको ग्याबिन जाली हाल्ने, पुलको फ्ल्याक बिच्छ्याउने कार्य मङ्सिरको पहिलो हप्ता सकिएको भए पनि पुलको वारि पारि स्लेप हालेर अन्य निर्माण कार्य पुसको तेस्राे साता सकिएसँगै पुलमा पर्यटकको भीड लाग्न थालेको रत्नेचौर जागरण समूहका अध्यक्ष मन्नु रावलले बताउनुभयो ।

रत्नेचौरमा रहेको खेलमैदानको उचित प्रयोग, चर्चित तोरीको फाँटको थप प्रचार हुनुका साथै आन्तरिक पर्यटकले स्थानीय व्यापारमा वृद्धि हुने रावलको भनाइ छ ।

तीनसय ८८ मिटर लामो र एकसय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाएको छ । पुलको निर्माणले आन्तरिक पर्यटन बढ्ने स्थानीयको अपेक्षालाई पूर्णता लिएको भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर रोकाले बताउनुभयो ।


पुल निर्माणले बागलुङ बजारसँग व्यापार तथा कामकाजका लागि जाने स्थानीयलाई सहजता भएको रोकाले बताउनुभयो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका– १ र २ का अधिकांश बासिन्दाहरुको रहनसहन तथा व्यापारिक सम्बन्ध बागलुङ बजारसँग हुने गरेको छ । पुल निर्माण भएसँगै रत्नेचौर, अर्जम, भकुण्डेलगायतका क्षेत्रका बासिन्दाहरुलाई पैदल मार्गबाटै बागलुङ बजारसम्मको सम्बन्धलाई पनि सहजता बनाएको छ । त्यस क्षेत्रमा उत्पादित कृषि, पशु तथा फलफूल जन्य बस्तुको बजारीकरणका लागि पुल कोसेढुङ्गा सावित हुने अपेक्षा लिइएको अध्यक्ष थापाको भनाइ छ ।

पुल निर्माण भएसँगै म्याग्दीका धार्मिक पर्यटकहरुलाई बागलुङमा रहेको बागलुङ भगवती, पञ्चकोट शालग्राम सङ्ग्रहालयको दर्शन तथा पुजा अर्चनाका लागि जान सहज भएको छ । बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न पनि सहज भएको अध्यक्ष थापाको भनाइ छ ।


रत्नेचौर क्षेत्रका बालबालिका बागलुङ बजारका विद्यालयमा जान र बागलुङको कुँडुलेका बालबालिका भानु माध्यमिक विद्यालय आउन आगामी दिनमा सहज हुने विव्यस अध्यक्ष रोकाको भनाइ छ ।

प्रत्येक वर्षको सिजनमा रत्नचौरको तोरीबारी, भानु माध्यमिक विद्यालय नजिकै रहेको खेलमैदानमा खेलकुदका लागि भ्रमणमा आउनेहरुलाई पुलले सहज भएको स्थानीयको भनाइ छ ।