• १३ साउन २०८१, आइतबार

नेपालगञ्ज क्षेत्रको विद्युत् पूर्वाधार विस्तार गरिने

blog

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रको विद्युत् संरचना विस्तार गर्ने भएको छ । 

नेपालगञ्ज र कोहलपुर तथा आसपासका क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारको सञ्जाल निर्माण गरिने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले सो क्षेत्रमा सन् २०५० सम्म आठ सय मेगावाटसम्म लोड आपूर्ति गर्नुपर्ने आकलनसहित ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनको निर्माण गरिने जनाएको हो । 

घिसिङ नेतृत्वमा प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार नेपालगञ्ज क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी प्रसारण र वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नति/सुदृढीकरणका लागि तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी लिएको छ । 

तत्कालको समस्या समाधान गर्न ३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । हाल चालू रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मीयाममा नेपालगञ्ज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताले बेहोर्दै आएका छन् । 

प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन पनि निर्माण गर्न लागेको छ । सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ । अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताको प्रस्ताव मूल्याङ्कन भइरहेको छ । उक्त सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नेपालगञ्जस्थित ३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाएर लाइन छिराउने योजना बनाएको छ । अहिले नेपालगञ्जमै रहेको अर्को ३३/११ केभी सबस्टेसनको पनि क्षमता विस्तारको काम भइरहेको छ । यसबाट नेपालगञ्ज क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।  

“भविष्यमा नेपालगञ्ज क्षेत्रमा हुने विद्युत्को मागलाई सम्बोधन गर्न दाङको लमहीबाट राप्ती नदीको आसपास, बाँके, बर्दियाको मैनापोखरी हुँदै कैलालीको टीकापुरसम्म दक्षिण कोरिडोर ४००/२२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिरहेका छौँ । भारतसँगको थप विद्युत् व्यापारका लागि कोहलपुरबाट भारतको नानपारासम्म उच्च क्षमताको लाइन बनाउन लागेका छौँ,” घिसिङले भन्नुभयो ।

बझाङ, दार्चुलाका जलविद्युत् र बाँकेको सौर्य आयोजनाबाट उत्पादित विद्युत् चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकाले पनि गत वर्षभन्दा यो वर्ष भोल्टेजको समस्या कम हुने घिसिङले बताउनुभयो ।