• १९ असार २०८१, बुधबार

चीलसँग ठोकिएर क्षति भएको जहाज मर्मत पछि उडान

blog

राजन राउत

हुम्ला, मङ्सिर २४ गते । आकाशमा चीलसँग ठोकिएर क्षति भई सिमकोट विमानस्थलमा ग्राउण्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि आज उडान भरेको छ । काठमाडौंबाट आएको प्राविधिक टोलीले तीन दिन लगाएर जहाजको मर्मत गरेपछि जहाजले उडान भरेको हो ।  

तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्बु लामाले क्षति भएको जहाजको मर्मत कार्य पूरा भएपछि सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्न सफल भएको बताउनुभयो । गत बिहीबार प्राविधिक टोली आएर जहाजको मर्मत गर्न तीन दिन लगाएको जानकारी दिनुभयो । 

हाललाई जहाजको मर्मत गरेर नेपालगञ्जसम्म लगिएको र थप मर्मत नेपालगञ्जमा हुने उहाँले बताउनुभयो । क्षति भएर मर्मत गरिएको जहाजमा चालक दलका सदस्य मात्र हुनुहुन्थ्यो । जहाजको मर्मतका लागि पाँच जना प्राविधिक आउनुभएको थियो । टोलीले पहिलो दिन जहाजको जोनभित्र रहेको दश केजीभन्दा बढी तौल भएको चीललाई निकालेको थियो । 

गत बुधबार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने मनेलेक क्षेत्रमा आकाशमा उडिरहेको तारा एयरको ट्विनअटर विमान चीलसँग ठोक्किँदा जहाजको अग्र भागमा क्षति भएको थियो । नेपालगन्जदेखि  सिमकोट विमानस्थलका लागि कार्गो उडान भरेर आइरहेको जहाजमा चील ठोकिएको थियो । 

तारा एयरको नाईन एन–एकेल कलसाईन भएको जहाज बुधबार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा अवतरण गर्न दुई मिनेट बाँकी रहँदा जहाजमा चील ठोक्किएको थियो । चील नोचभित्र पसे पनि चालक दलका सदस्यले जहाज सिमकोट विमानस्थलमा सुरक्षित अवतरण गर्नुभएको थियो ।