सत्यलाई साथ नदिएर
साथ दिनेलाई घात गरेपछि –
सुअवसर टाढा हुन्छ
अनि विपत्ति पनि आउँदो रहेछ ।
कुकर्म लुकाउन
जति नै गोप्यता कायम गर्न खोजे पनि
एकदिन सूर्यनारायणझैँ
सत्य चहकिलो भै उदाउँछ ।
असत्यलाई साथ दिँदा
आफू बन्नलाई छलछाम गर्दा
हालत यसरी बिग्रिन्छ कि–
खोलाको माछा तातो बगरमा परेर
अनि छटपटीमा उफ्रिएझैँ
नदीको शीतल पानी
सम्झँदै मृत्युलाई पर्खेझँै
पो हुँदो रहेछ ।
सबैलाई आफ्नो वशमा राख्छु भन्दा
मित्रहरू टाढिन्छन्
अन्ततः
मनको बह पोख्ने मानिस कोही हुन्न
मनभरि आगो वर्षन थाल्छ
निद्रादेवीले काखमा लिन्नन्
अनिँदोमै रात सुस्केरामा बित्छ ।
छटपटी बढ्छ, जति कोल्टो फेरे पनि
समयले कोल्टो फेर्दैन
सोमरसको पान बढ्छ
शरीरका नसालाई नशा चाहिन्छ
स्वार्थीहरू नजिकिन्छन्
सत्हरू पन्छिन्छन्
स्वार्थीहरूले लुट्छन् पिर्छन्
ती दिन फेरि कहिल्यै फर्कन्नन्
अहो ! वास्तविकता यस्तै यस्तै हुन्छ ।