• ८ मंसिर २०८१, शनिबार

मुस्ताङी छटा

blog

ज्ञानेन्द्र विवश

पहाडी गल्छी काटेर हिमालकै फेदीबाट गुज्रिँदै हिमालपारि पुग्दा देखियो– वारपार हिमाच्छादित क्षितिजका अनगिन्ती ताँती । तिनै ताँतीको कहिले आमुन्नेसामुन्ने, कहिले किनार हुँदै उकाली–ओराली यात्रा बढिरह्यो लगातार । मायालु लुकामारीको एक काया–कञ्चन सुन्दर सिलसिला यात्राभरि अविरल देखियो । मनभरि उत्सुकताका उरुङ खात भारी, आँखामा बेग्लै चञ्चलता र गन्तव्य पुग्नुको मृगतृष्णा त छँदै थियो । उपल्लो मुस्ताङका छरपस्ट छवि आँखामा सँगालेर हेर्नुको आनन्द बेग्लै थियो । असीम प्राप्तिका सुमधुर सम्झनामा हराउनुको अर्कै रमाइलो क्षण बन्यो । 

घचेटाघचेटबीच हिमालका लस्कर कति–कति देखियो । पाखैभरि माटोका अनौठा भू–बनोटका आकृतिमा अनेकौँ संरचनाका स्वरूप भेटियो । भौगोलिक विकटता, यद्यपि प्रकृतिको रहस्यमय अवस्थिति हेरियो । अचम्मका प्राकृतिक पहाड शताब्दीऔँअघिदेखि उस्तै ! मनै लोभ्याउने माथिल्लो भूगोलको सौन्दर्य । अनि एउटा पृथक् हिमाली सुगन्ध मनभरि मगमगाइरह्यो । त्यो उत्तिकै लोभलाग्दो, उत्तिकै मनमोहक थियो । आँखै रमाउने मुस्ताङी छटा र छविले आँखालाई निथ्रुक्कै पारिरह्यो ।

अस्तव्यस्त कच्ची बाटोलाई सहजै छिचोल्दै । बेला–बेला दृश्यलाई मनमा सजाउँदै । चौतर्फी दृश्यका अथाह उपस्थितिहरू । सौन्दर्यपान गर्नै नपाई फेरि अर्को सुन्दरताको उदय । बिर्सिंदै कार्यव्यस्तताका सम्झना र तनाव । हिमाल र पहाडका अविच्छिन्न तरेलीसँग साक्षात्कार र संवाद गर्दै मैले मनन गरेँ, “हेर्नुको आनन्द नवीन दृश्यसँग प्रेमिल भेटको सौजन्य । रहस्यमय अनुभूतिका मीठा–मीठा पलहरूको मिलन ! यही हो सुखद यात्रा जिन्दगीको ।”

कागबेनीबाटै देखिने पठारका आकर्षक दृश्य, कालीगण्डीको विशाल व्याप्ति । उक्लिन थालेपछि मुस्किलले भेटिने पातला बस्ती अनि उराठ फाँटमा पनि लटरम्मै रसिला स्याउका बोट । पाखामा भेँडा, च्याङ्ग्राहरू अनि सुनसान बाटोमा फाट्टफुट्ट भेटिने पैदलयात्री र गाडी । कति हर्ष, कति विष्मात् र कति विषादका पहेँलीहरू । कति दुःख, कति सुख र कति खुसीका क्षणहरू । प्रकृतिका अलौकिक सुन्दरताले सुसज्जित । कठिन यात्रापश्चात्को विश्राम अन्त्यहीन सौन्दर्यको खातैखातमाथि प्रफुल्लित बन्दोरहेछ ।

प्रिय हिमाली प्रकृति तिमीलाई देखेर म हैरान भएँ । तिमीलाई भेटेर म निःशब्द बनेँ । तिम्रो अनौठो आकृति र अवस्थितिले म कति हर्षित, कति मूर्छित भएँ । तिम्रो रूप–सौन्दर्यमा म कति मन्त्रमुग्ध बनेँ । तिम्रो दिव्यानुहारमा म लठ्ठिँदै र तिम्रो रूपमा मख्ख पर्दै आफैँमा हराएँ !   

उपल्लो मुस्ताङमा प्राकृतिक मुस्कानका स्वागतले यात्राका कष्ट कुलेलम ठोके । सिनित्त बढारिएका, स्वतः सिँगारिएका पवित्र धरा–धामहरू देखिए । न कुनै प्रदूषण, न कुनै पीडाजन्य प्रकम्पन । बरु आँखा अघाउँजी सौन्दर्यका अथाह सागर दृश्यपान । कैयौँ पहाडी र हिमाली तरेली तरेर आइपुग्नुको तृप्ति । बिनातामझामको उराठ मरुभूमितुल्य फाँटहरूको व्याप्ति । गहिरिँदै गल्ली र गल्छेँडासम्म । माटोका पनि चुच्चे ढिस्को र गुफामा विभाजित । फैलिनुसम्म फैलिँदै कता–कता र कहाँसम्म ? चुचुरो चुलिँदै चुलिनुसम्म । दैनिक हावाको वेगबतासमा पनि खडा चुइँक्क कहीँ कतै हलचल छैन । जिन्दगी एक यात्राको अनुपम अनुभूतिमय आयाममा बल्ल भएको यथार्थ महसुस । छिचोलेर कैयौँ कोप्चेरा, कुइनेटा र अप्ठेरा जङ्घारहरू । फड्को मार्दै सानातिना कैयौँ चुचुराहरू । धारिला ढुङ्गासँगै धरापका बाटाघाटा छिचोल्दै । पहिरोले बगाएको बाटो खोज्दै, रुख, माटो र ढुङ्गाका थुप्रो पन्छाउँदै हिँड्नु पनि हिँड्नु रहेछ । ज्यान खाने भीरलाई उछिनेर गाडी गुड्नु र गन्तव्यमा सकुशल पुग्नुको उपलब्धि अत्यास मेटाउने आनन्दको हुने रहेछ । एक प्रकारले पुग्नुको भोकप्यास सबै बिर्सिएर । अनकन्टार यात्राको बिल्लीबाठ पनि बिर्सिएर । हरियाली र उजाड पाटाहरू । झरना, खोलाखहरे र पोखरी हेर्दै, हेर्दै । वरिपरि हिमाली लस्कर मार्गमा मोहित हुँदै । एकपछि अर्को उत्सुकता, उत्साह र उमङ्गले वशीभूत मन–प्राण । अनुपम प्राकृतिक परिवेशमा म मदहोश क्रमशः ...। 

हिमाली सौन्दर्य अनि हार्दिकताका सुगन्ध र सुवासलाई मन र मुटुमा राखेर । साँच्चै नेपाल शान्त, सुन्दर र सुरम्य ! हेर्नु, भेट्नु, छुनु, चुम्नु र मनमा ती प्रिय क्षणलाई सजाएर राख्नुका सुखद पलहरू । अटेसमटेस भावनाका बेतोड तर शान्त भेलहरू । भावनाका उन्मुक्त छताछुल्ल छालहरू । आँखा अघाउँजी निस्फिक्री डुबुल्किँदै पखालिएपछिको पवित्र ज्यान आफैँमा फुर्तिलो र फुरुङ्ग । तत्पश्चात् बुर्कुसी मार्दै आँखाहरू हिमाली सौन्दर्य चाख्न र पाइलाहरू आँखा पछ्याउँदै पछिपछि । चिसोमा पनि असिनपसिन हुँदै थाप्लोमा पुग्दा पठारका फाँटहरू उछिनापाछिन गर्दै देखिनलाई उपस्थित थिए ।

उचाइ भूगोलमा तिब्बती संस्कृति र संस्कार, बेग्लै रहनसहन । तथापि मिठो आतिथ्यता र आत्मीयता । लेकाली जीवनको प्रकृतिजस्तै निर्मल, निश्चल निःस्वार्थ हार्दिकता । कल्पना, परिकल्पनाभन्दा पृथक् । वास्तविक सौन्दर्यका रूप–रहस्यसँग भेट । अनुभूतिका अनेकौँ सिलसिलाहरू । प्रकृतिको विराट विरासत । जीवन्त बस्ती र अनौठा भूतल । अर्थ, अनुभूतिमा नवीनता उद्घाटित । सुन्दर, शान्त, शीतल, सफा मौसम, प्रकृति र मन । विकट र कठिन यात्रा तर सुखानुभूतिका बेग्लै स्पर्शले अँगाल्न आयो । अचम्मका गल्छी र घुम्ती देखियो । त्यो अनकन्टार यात्रामा कतै नागबेली सडकको रमाइलो । कहीँ बाटोको बिजोगले हैरानी र सास्तीसँगै एकसाथ हर्ष र विस्मात पनि । कठिनतम कहरपछि अर्कै संसारमा पदार्पण हुँदा कष्ट त्यत्तिकै हरायो । अन्ततः प्रकृतिको एक अलग्ग दृश्य–दर्शन मिल्यो । हजारौँ वर्षदेखि उस्तै अनि उत्तिकै आकर्षक प्रकृतिलाई भेटेर आँखा र मनलाई आनन्दको मिठास भयो । अनि दिव्य अनुभूति र दिव्य पलको प्राप्ति भयो ।

प्रिय हिमाली प्रकृति तिमीलाई देखेर म हैरान भएँ । तिमीलाई भेटेर म निःशब्द बनेँ । तिम्रो अनौठो आकृति र अवस्थितिले म कति हर्षित, कति मूर्छित भएँ । तिम्रो रूप–सौन्दर्यमा म कति मन्त्रमुग्ध बनेँ । तिम्रो दिव्यानुहारमा म लठ्ठिँदै र तिम्रो रूपमा मख्ख पर्दै आफैँमा हराएँ ! अनुभूतिको बेग्लै स्वाद, बेग्लै मिठास चाख्न पाएँ । यात्राको बेग्लै तृप्ति र बेग्लै सन्तुष्टि लिन पाएँ । प्रकृति सन्निकट हुन त्यत्तिकै हत्तार, उत्तिकै बेफुर्सद थिएँ । नवीन दृश्यपान गर्न सधैँ आतुर भएँ । 

अन्ततः भुक्तमानपछिको प्राप्ति पृथ्वीमा एक सुन्दर परिदृश्यसँगको मौन संवाद सदाका निम्ति सम्झनायोग्य रह्यो । यात्राबाट थकित–थकित भए पनि अनि उत्तिकै चकित–चकित पनि ! मेरा लागि मनमोहक मुस्ताङ । अनुभूतिमय र अविस्मरणीय यात्रा अत्यन्तै सुखद रह्यो । संसारको सबैभन्दा राम्रो र सुन्दर भूमि अर्थात् स्वर्गभूमि, स्वर्णभूमि देख्न पाएर मन आह्लादित बन्यो । समग्रमा अनुभूतिमय सम्झनाका मिठा–मिठा पलहरू । मुस्ताङी छटा र छालहरू ।