• १३ साउन २०८१, आइतबार

अटो व्यवसायीद्वारा विरोध प्रदर्शन

blog

काठमाडौँ, मङ्सिर २३ गते । सरकारले आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरे पनि गाडी बिक्री हुने वातावरण नभएको भन्दै अटोमोबाइल व्यवसायीले आन्दोलन जारी राखेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अगुवाइमा बिहीबार काठमाडौँको माइतीघरमा अटो व्यवसायीले कालोपट्टी बाँधेर सरकार र नेपाल राष्ट्र बैङ्कविरुद्ध नाराबाजी गरेका थिए । बैङ्कले ब्याजदर घटाउनुपर्ने, चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर्नुपर्नेलगायत माग राखेका छन् ।

नाडाका अध्यक्ष ध्रुव थापाले सरकारले गाडीको आयात खोले पनि अहिलेकै बैङ्क ब्याजदरमा कसैले गाडी खरिद गर्न सक्ने अवस्था नभएको बताउनुभयो । सवारी आयात गर्न खुला भए पनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेको भन्दै मार्जिन हटाउनुपर्ने बताउनुभयो ।  राष्ट्र बैङ्कले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पु¥याएको भन्दै उहाँले व्यवसायीले पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेको बताउनुभयो । लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने पनि अटो व्यवसायीको माग छ ।