• १३ असोज २०८१, आइतबार

पर्सिएको बोकाले पायो पुनर्जीवन

blog

कुशादेवी (काभ्रेपलाञ्चोक), मङ्सिर २३ गते । पर्सिएको बोकोजस्तो निरीह अवस्था कसैको हुँदैन । कुश र पानी टाउको र शरीरमा छर्किएपछि त्यसले जिउ हल्लाउँदा बोकाले मानेको मानिन्छ । त्यो मान्नु भनेको बोकाले ‘काटिन तयार छु भनी मुन्टो हल्लाएको हो’ भनी मानिसले सन्देश लिन्छन् तर त्यो पशुले शरीर हल्लाएको चाहिँ शरीरमा परेको पानी हल्लाएको हो ।

मङ्सिर र वैशाख पूर्णिमामा विभिन्न जाति र थरका कुल पूजामा त्यसरी कैयौँ बोकाले मानेका नाममा तिनीहरूलाई काटिएको छ तर एक वर्षदेखि पटक–पटक पर्सिएर बलि दिन ठिक्क पारिएको एउटा बोकाले भने बिहीबार मङ्सिर पूर्णिमा (धान्य पूर्णिमा)कै दिन पुनर्जीवन पाएको छ । 

यसअघि दुई पटक पर्सिन ठिक्क बनाइएको र तेस्रो पटक बलि दिन पर्सिइएको बोकाले पुनर्जीवन पाएको हो । त्यति मात्र होइन बोकाले अ बन्धनमा नरही स्वतन्त्र जीवन पाएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. २ कुशादेवीका आचार्य परिवारले कुलायन पूजामा बलि दिनलाई पर्सिएर ठिक्क पारेको बोकालाईजीवनदान दिएका हुन् । 

अघिल्लो दिनदेखि नै पूजा गरेर बलि दिन ठिक्क पारेको बोकोलाई बलि नदिने निर्णय भएसँगै पूजा गरेर घाँटीमा घन्ट झुन्डाएर स्वतन्त्र बनाएको स्थानीय रामप्रसाद आचार्यले बताउनुभयो ।

आफूसँगै १४५ घरधुरीका मूलीले बलि नदिने भनेपछि पुजारीसँग परामर्श गरेर बलि नदिने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले एक वर्षअघि १६ हजार रुपियाँमा खरिद गरेर ल्याएको बोको सुतक परेपछि बलि दिन रोकिएको थियो । सो बोकाको हालको बजारमूल्य २० हजार रुपियाँभन्दा बढी छ । 

अघिल्लो मङ्सिरमा रोकिएको कुलायन पूजा जेठमा सरेको थियो । जेठमा बलि दिने तयारी भइरहेको समयमा आचार्य परिवारमै जुठो परेपछि बलि दिन रोकिएको थियो । 

दोस्रो पटक आफूलाई जोगाएको बोकाले तेस्रो पटकमा आचार्य परिवारले कुलायन पूजामा बोकाको बलि नदिने निर्णयगरेसँगै मुक्ति पाएको हो । आफ्नो कुलायनलाई चढाएको बोकालाई मुक्ति दिने निर्णयसँगै बोकाको घाटीमा घन्टी बाँधेर छाडिएको तीर्थप्रसाद आचार्यले बताउनुभयो । 

वर्षाैंदेखि हुँदै आएको कुलपूजामा बलि नदिने परम्परा रोकिने निर्णय गर्दा दुःख लागे पनि बोकाले जीवन पाएकोमा खुसी लागेको उहाँले बताउनुभयो । 

स्थानीय दामोदर आचार्यले युवा पुस्ताले पनि बलि नदिने राय राखेपछि बोकाको ज्यान जोगिएको हो । उहाँले आगामी वर्षदेखि बलिबिना नै कुलायन पूजा गर्ने निर्णय भएको सुनाउनुभयो ।