• ११ असोज २०८१, शुक्रबार

अस्पताल छ, न डाक्टर छन् न अध्यक्ष

blog

प्युठान समाचारदाता

प्युठान, मङ्सिर २२ गते । सदरमुकाम बिजुवारमा रहेको जिल्ला अस्पताल विगत नौ महिनादेखि मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)विहीन भएको छ। मेसु डा. नवीन दर्नालको सरुवा भएपछि नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट नआउँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ।

त्यस्तै अस्पताल विकास समितिको अध्यक्ष पदसमेत रिक्त रहेको छ। तत्कालीन अध्यक्ष पितबहादुर महतराक्षेत्री झिमरुक गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त भएको हो। 

अध्यक्ष र मेसु नहुँदा कतिपय अस्पतालका महत्वपूर्ण कामहरू सञ्चालन गर्न समस्या भएको निमित्त मेसु खिमप्रसाद पार्धेले बताउनुभयो। उहाँका अनुसार अस्पतालमा मिर्गौलाको डायलासिस सेवा, आईसीयू र एनआईसीयूलगायतको सेवा प्रवाहमा समस्या भएको छ। 

सो सेवाका लागि उपकरण प्राप्त भए पनि जनशक्ति नहुँदा सेवाले निरन्तरता पाउन सकेको छैन। अस्पतालको भिडियो एक्स–रे मेसिन बिग्रिँदा सेवा ठप्प रहेको छ। मेसिन खरिदका लागि आवश्यक पहल गर्न नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यसँग आग्रह गरिएको छ। यस अस्पतालमा रोल्पा, गुल्मी र अर्घाखाँचीबाट समेत बिरामी सेवा लिन आउने गरेका छन्। स्वास्थ्य उपचार सेवा नियमित नहुँदा सेवाग्राहीले सास्ती पाउने गरेको नागरिक समाज प्युठानका संयोजक सुमन सुवेदीले बताउनुभयो। यस अस्पताललाई २०७३ माघ २० गते ५० शय्यामा स्तरोन्नति गरिएको हो।