• ११ असोज २०८१, शुक्रबार

अध्यागमन कार्यालय कामरहित

blog

कोकिला ढकाल

इलाम, मङ्सिर २२ गते । दुई वर्षअघि इलामको पूर्वी सीमावर्ती पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन अवस्थामा रहेको छ। भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फ मात्रै अध्यागमन कार्यालय स्थापना हुँदा कामविहीन अवस्थामा पुगेको हो। यहाँको अध्यागमनलाई काम गराउन भारततर्फ पनि अध्यागमन कार्यालय स्थापना हुन जरुरी छ। 

नेपालतर्फ भने तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललगायतले कार्यालय उद्घाटन गर्नुभएको थियो।  उद्घाटनका क्रममै मन्त्री थापा र महानिर्देशक पौडेलले भारततर्फ पनि अध्यागमन स्थापना गराउन परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको बताउनुभएको थियो तर कार्यालय स्थापनाको दुई वर्ष बितिसक्दा पनि भारततर्फ भने अध्यागमन कार्यालय स्थापना गराउने विषयमा नेपाल सरकारले केन्द्रीय स्तरमै प्रयास नगर्दा अध्यागमन कार्यालय व्यर्थ भएको स्थानीयको गुनासो छ। 

“पहिला कार्यालय यहाँ स्थापना हुँदा खुसी भइयो तर अहिले काम विहीन अवस्थामा छ। नेपाल सरकारले भारतको केन्द्रीय सरकारसँगै अध्यागमन भारततर्फ राख्न पहल गरेन।” सूर्योदय नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले भन्नुभयो, “यदि यो नाकामा दुवै देशमा अध्यागमन कार्यालय हुने हो भने त्यसको प्रत्यक्ष फाइदा पूर्वी पहाडका किसानलाई समेत हुन्छ। पूर्वी पहाडको आर्थिक उन्नति हुनसक्ने थियो।” पर्यटकबाहेक पशुपतिनगर नाका हुँदै दैनिक उपभोग्य खाद्यान्नका सामग्री मात्र भारतबाट आयात गर्न सजिलो छ, बाँकी पेट्रोलियम पदार्थ, कृषि बालीका लागि मल, बीउ जस्ता वस्तुहरूले भने नेपाल आउन पशुपतिनगरबाट प्रवेश पाउँदैनन्। नेपालमा उत्पादन भएका अदुवा, चिया, कुचो, जडीबुटी, आलु, तरकारी जस्ता वस्तुहरू भारत निर्यात गर्न पनि पहाडी जिल्लाबाट झापाको काँकडभिट्टा नाका नै पु¥याउनु पर्ने बाध्यता छ। “अध्यागमन भएपछि यी सबै वस्तुमा आयात र निर्यातमा सहज हुन्छ भन्ने हामीले बुझेका थियौँ तर ती सबै कुराहरू अहिले सपना जस्तै भएका छ,” राईले भन्नुभयो। 

इलाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा विल्याँटेका व्यवसायी कृष्ण पौडेल पनि पशुपतिनगर नाकाबाटै जिल्लाको कृषि उपज निर्यात गर्दा ढुवानी खर्चदेखि छोटो बाटोले पनि सहज हुने बताउनुहुन्छ। “दैनिक सयौँ ट्रक माल काँकडभिट्टा पु¥याउनु पर्ने व्यापारीको बाध्यता छ, यदि पशुपतिनगरबाट भारत निकासी मिल्ने हो भने तल पु¥याउँदाको खर्च कम्तीमा पनि किसानले खाने थिए,” पौडेलले भन्नुभयो। 

यता इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना पनि पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय काम विहीन रहेको बताउनुहुन्छ। एक अधिकृतसहितको दरबन्दी रहेको कार्यालयमा अहिले नायब सुब्बालगायतका कर्मचारीहरू हाजिर गरेर बसेको र अधिकृत भने काँकडभिट्टाको अध्यागमन कार्यालयमा काजमा रहेको प्रजिअ ढुङ्गानाले जानकारी दिनुभयो। “नेपालतर्फ मात्र यो कार्यालय भएर हुँदैन, भारततर्फ अध्यागमन अनिवार्य छ तर भारततर्फ अध्यागमन राख्ने विषय भारतीय राजदूत र दूतावासमार्फत मात्र सम्भव रहेनछ। नेपाल सरकारले भारतको केन्द्रीय सरकारसँग सोझो संवाद गर्नुपर्ने अवस्था देखियो।” प्रजिअ ढुङ्गानाले भन्नुभयो, “पशुपतिनगरस्थित भारततर्फ अध्यागमन राख्ने विषयमा भारतको पश्चिम बङ्गाल सरकार नै उत्सुक छैन भन्ने बुझिन्छ।”

त्यसो त भारततर्फ अध्यागमन कार्यालय राख्न पश्चिम बङ्गालका मुख्यमन्त्रीले खास चासो नराखेको जानकारहरू बताउँछन्। भारतको केन्द्रीय सरकार र पश्चिम बङ्गाल सरकारबीचको आपसी टकरावले गर्दा पनि यहाँ अध्यागमन कार्यालय भारतले राख्न नसकेको पशुपतिनगरस्थित भारततर्फ फाटकका स्थानीयको बुझाइ छ।