काठमाडौं, मङ्सिर २१ गते । दुई दशकदेखि सिने जगतमा आबद्ध भई अभिनयमा क्रियाशील रहेर लाखौँ दर्शकको मन जित्न सफल कलाकार हुनुहुन्छ– रोहित रुम्बा ।
हालै प्रदर्शन भएको फिल्म लाखेमा आप्पाको भूमिकामा देखिनुभएका रुम्बाले सर्ट फिल्मसमेत गरेर करिब दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ ।
वि. सं. २०५८ मा मार्सल आर्ट फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएका रुम्बाले लाखेसम्म पुग्दा विभिन्न तीतामिठा अनुभव बटुल्नु भएको छ ।
यस्तै, मार्सल आर्ट फिल्म गर्दा उहाँ मात्र १६ वर्षको हुनुहुन्थ्यो । सानै उमेरदेखि हिरो बन्ने सपना देखेका रुम्बालाई फिल्मबाहेक अरू केही कुराको वास्ता नै लाग्दैन ।
रुम्बा भन्नुहुन्छ, “म कलाकार बन्न नै जन्मेको जस्तो लाग्छ र आज जे छु कला क्षेत्रको कारण नै छु । म जीवनको अन्तिम क्षणसम्म पनि कलाकारिता क्षेत्रमा लागिरहने छु ।”
सानैदेखि वलिउड किङ सारुखान र दिलिप रायमाझीलाई आफ्नो आइडलको रुपमा लिएर अघि बढ्नुभएका रुम्बालाई कला क्षेत्रले धेरै माया दिएको छ ।
कला क्षेत्रमा धेरै हेपाइ भोगेको छु...
कलाकार रुम्बाका अनुसार यस क्षेत्रमा सिनियर जुनियरबीच भेदभाव धेरै हुन्छ । उहाँ भन्नुहुन्छ, “सिनियर र जुनियरलाई गरिने व्यवहारमा धेरै फरक छ । यसैलाई अँगालेर अगाडि बढ्न सक्नुपर्छ तर अहिले भने केही हदसम्म परिवर्तन आएको छ ।”
दालमोठ चिउराको याद आउँछ...
सुटिङका क्रममा खाने दालमोठ चिउरा उहाँलाई मनपर्छ । कला क्षेत्रमा दालमोठ चिउरासँग धेरै कलाकारको सम्बन्ध छ । दालमोठ चिउरा वा सेटको खाजा आफ्नो सङ्घर्षसँग जोडिएको छ ।
“सानोमा खाएको याद आउँछ तर काममा आफूभन्दा सिनियर कलाकारले नखाँदा मैले खाएर गल्ती गरेँ कि जस्तो लाग्थ्यो र म पनि सिनियर भएपछि यो खाजा खाँदिनँ भन्ने सोच आउँथ्यो”, उहाँले भन्नुभयो ।
म कलाकारसँगै निर्माता पनि हुँ...
कलाकार रुम्बाले फिल्म निर्माण गर्नुमा उहाँको एउटै मात्र स्वार्थ हो दर्शकमाझ आफूलाई चिनाउनु । आफू पनि निर्माताको रूपमा काम गर्नुको प्रमुख कारण नै आफूलाई दर्शकमाझ चिनाउनु थियो ।
“झण्डै १५ वर्षको सङ्घर्षमा पनि कला क्षेत्रले समेत चिनेन दर्शकले त झनै के चिनोस् । यसरी आफूलाई चिनाउने लक्ष्य लिएर फिल्म निर्माणतिर लागेको हो,” उहाँ भन्नुहुन्छ, “फिल्म निर्माणपछि भने फिल्म क्षेत्र र दर्शकले मलाई पनि चिनेको हो कि जस्तो महसुस हुन्छ ।”
उहाँलाई दर्शकले फिल्म नेप्टे निर्माणपछि चिनेकोमा खुसी लाग्छ तर पनि दर्शकमाझ लोकप्रिय बन्न कलाकार नै बन्नुपर्ने उहाँ बताउनुहुन्छ । रुम्बा भन्नुहुन्छ, “म कलाकार बन्न नै जन्मेको जस्तो लाग्छ र आज जे छु कला क्षेत्रको कारण नै छु । म जीवनको अन्तिम क्षणसम्म पनि कलाकारिता क्षेत्रमा लागिरहने छु ।”
लाखे फिल्मका 'आप्पा' चरित्र...
उहाँ भन्नुहुन्छ, “लाखे फिल्मको कारण जीवनमा आजसम्मकै धेरै बधाई खाएको म महसुस गर्छु । लाखेले मलाई धेरै उत्साहित र दर्शकमाझ चिनाएको छ ।”
“कला क्षेत्रमा सुरुवाती दिनमा म आफूलाई हिरो भनेर चिनाउने गर्थे । अहिले त्यस्तो गर्दिनँ, जसले जसरी चिन्नुहुन्छ त्यही ठीक लाग्छ । दर्शकले रोहित रुम्बालाई भन्दा बढी 'आप्पा'लाई चिनेको छ र म यसमै खुसी छु”, उहाँले भन्नुभयो ।
मलाई पनि स्टार बन्नुछ...
रुम्बालाई नेपालका अरू स्टारजस्तो आफूलाई दर्शकमाझ चिनाउनु छ । उहाँ भन्नुहुन्छ, “मलाई पनि दर्शकको माया पाउने इच्छा र सपना छ । त्यसैले अझै राम्रो फिल्म खेल्ने र आफूले पनि नयाँ फिल्म निर्माण गर्ने योजनामा छु ।”
उहाँका अनुसार पहिले थोरै लगानीमा राम्रो फिल्म बन्थ्यो तर अहिले धेरै लगानीमा पनि राम्रो बन्न गाह्रो छ । नेपाली फिल्म पनि हलिउड र बलिउडजस्तो बन्न अझै नसकेको उहाँ दुःख व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, परिवर्तन बिस्तारै हुँदैछ । एक दिन कला क्षेत्र अवश्यमाथि पुग्नेछ ।
उहाँका अनुसार, अरूजस्तै कला क्षेत्र पनि पैसासँग जोडिएको छ । फिल्म चले जीवन पनि राम्रै चल्छ नत्र दुवैसँगै रोकिन्छ ।
उहाँ भन्नुहुन्छ, “पैसाले मान्छेलाई कहिले पनि पुग्दैन तर आफूलाई चलाउन सिक्नुपर्छ । आफू खुसी हुन सिक्ने हो भने कला क्षेत्र धेरै राम्रो हो ।”
भिडियो : मनोजरत्न शाही