• १२ असोज २०८१, शनिबार

महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनु पर्छ : नेता प्रदीप पौडेल

blog

नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेल । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर २० गते । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गर्नुभएको छ ।

मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउनुहुँदै नेता पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले मेलम्ची खानेपानी आयोजनामा हालसम्म ६५ अर्बभन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्नुहुँदै काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख श्रोतको व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको बताउनुभयो ।

नेता पौडेलले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको धारणा पनि व्यक्त गर्नुभयो । उहाँले मेलम्चीको पानी काठमाडौं आइसक्यो भनेर मात्रै छोड्नु नहुने भन्नुहुँदै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षातको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्रीज्यूको म ध्यानाकर्षण गराउन चाहन्छु, ६५ अर्बभन्दा बढी राज्यको लगानी भइसकेको छ । काठमाडौंलाई खानेपानी उपलब्ध गराउने एउटा प्रमुख श्रोत हो । यत्रो लगानी भइसकेपछि त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न त्यसको सञ्चालनका निम्ति छुट्टै मेकानिजम हुन आवश्यक छ ।’’

नेता पौडेलले १२ महिना नै मेलम्चीको पानी काठमाडौंमा प्रयोग गर्न सकिने गरेर काम हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘काठमाडौं आइसक्यो नियमित चल्छ भनेर त्यसलाई निगरानी नगर्ने स्थिति हुनु हुँदैछ । मेलम्ची विकास समितिलाई कायम गरिनुपर्छ । ७ महिना पानी फ्लो हुन्छ भन्नेछ । ५ महिना वर्षातको समयमा पानी बन्द हुन्छ, त्यसले यहाँको माग पूरा हुन सक्दैन । त्यसैले १२ महिना नै पानीको माग पूरा हुनेगरी उपयोग गर्नुपर्छ । महानगरपालिका भित्र मात्रै मेलम्ची खानेपानीको उपलब्धता छ अहिले महानगर बाहिर पनि यसको उपलब्धता हुनुपर्छ ।’’