• १३ साउन २०८१, आइतबार

सेयर बजारको उतार–चढाव

blog

सेयर बजारमा हाल चुनावी नतिजाको खासै प्रभाव पर्न सकेको देखिँदैन। बजारमा सामान्य बढोत्तरी देखिएर हाल नेप्से परिसूचकाङ्क एक हजार ९७६ दशमलव ३८ बिन्दुमा पुगे पनि तत्काल बजारमा ठूलो उछाल आउने सम्भावना भने न्यून नै छ। मुलुकको समग्र अर्थतन्त्रमा देखिएको सुधार र चुनावपछि बन्ने स्थायी सरकारको आगमनपश्चात् भने बजारले माथिल्लो यात्रामा गति लिने अनुमान सहजै गर्न सकिन्छ। 

सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान विश्व बैङ्कले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ मा गरिएको छ भने नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको छ। बजारको बढोत्तरी र समग्र अर्थतन्त्र चलायमान बनाउन बाधकको रूपमा रहेको ब्याजदर घटाउने दिशातर्फ नेपाल सरकारको अर्थमन्त्रालय र राष्ट्र बैङ्क नै संवेदनशील भएर लागेको अवस्था अनि व्यवसायीहरू चर्को ब्याजदरका विरुद्ध आन्दोलित मात्र होइन नयाँ कर्जाका माग नै कम हुने गरी एक्सनमा आएका कारण अबका दिनमा ब्याजदर कम हुने आशा गर्न सकिन्छ।

मुद्रास्फीति उच्च रहेको अवस्थालाई सही लाइनमा ल्याउन पनि ब्याजदर व्यवसाय गर्न योग्य अवस्थामा नल्याइ अबका दिनमा सुखै छैन। त्यो भनेको कर्जाको ब्याज दर एक अङ्कमा (दस प्रतिशतभन्दा कम) ल्याएको अवस्थामा मात्र मुलुकमा समग्र उद्योग व्यवसाय चलायमान हुन्छ अनि सेयर बजारमा कर्जा लिएर लगानी गर्नेको सङ्ख्यामा पनि बढोत्तरी आउन भन्ने हो। हालको चर्को ब्याज दरका कारण अहिले व्यवसाय गर्न न नयाँ लगानीका लागि आकर्षित हुने अवस्था छ भने न त सेयरमा कर्जा लिएर लगानी गर्ने लगानीकर्ताहरू नै आकर्षित हुने अवस्था छ। 

सेयर बजारमा कर्जा लिएर लगानी गर्ने अवस्था हाल न्यून रहे पनि सेयरका लगानीकर्ता जोसँग ठूलो मात्रामा लगानीयोग्य रकम रहेको छ, त्यस्ता व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले बजारमा केही करेक्सन आउनेबित्तिकै मनग्य सेयर खरिद गर्दै आएको देखिएको छ। बजार बुझ्ने लगानीकर्ता सेयरमा लगानी बढाउन आतुर रहेको स्पष्ट सङ्केत देखिए पनि स्मार्ट लगानीकर्ता एकै पटक सेयर खरिद नगरेर करेक्सन कुर्ने अनि लगानी गर्ने रणनीतिमा लागेको देखिन्छ। 

नेप्से एक हजार ८०० को बिन्दु नजिक दुई पटक आएर बारम्बार माथि जाने प्रयत्न गर्दैछ। हालको बजार नेप्से परिसूचकाङ्क माथि जानका लागि विविध कारण कुर्दै रहेको जस्तो देखिन्छ। बजारबाट मनग्य सेयर उठाइसकेका लगानीकर्ता भने चुनावपछि हुने अर्थतन्त्रको चलायमान अवस्था, नयाँ सरकारको गठनले आउने उत्साह, ब्याजदरमा आउन सक्ने कमी र पर्यटन आगमनमा भएको बढोत्तरीले समग्र मुलुकमा अर्थतन्त्रमा पार्ने सरकारात्मक प्रभाव, रेमिट्यान्समा आएको बढोत्तरी, विदेशी मुद्राको सञ्चितिमा भएको सुधार, आयातमा गरिएको कडाइ र विद्युत् निर्यातमा देखिएको उत्साह, नयाँ ब्रोकर र स्टक एक्सचेञ्ज कम्पनी आउन तरखरमा रहेको अवस्थाजस्ता विविध कारणको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने आशामा बसेको देखिन्छ। 

नेपाली सेयर बजारका प्राविधिक विश्लेषक पनि नेप्से एक हजार ८०० को हाराहारीबाट तल झर्न नमानेको अवस्था त्यसमा पनि लामो समय त्यही बिन्दु नजिक रहेर अब बजार माथि जाने प्रयत्न गर्दै रहेको अवस्थालाई अब ‘बुल ट्रेन्ड’ सुरुआत भएको हो कि भन्ने कुरा धेरैले स्वीकार गरेको अवस्था हो अहिले। 

सेयर बजारमा सूचीकृत कम्पनीले यस वर्ष दिएको प्रतिफल खासै उत्साहजनक रहेन। तर त्यसको अर्थ कम्पनीहरूले नकमाएका भने होइनन्। प्रतिफलको रूपमा नगद लाभांश त्यसमा पनि निकै कम दिनुले कम्पनीहरूले आफ्नो कमाइको ठूलो हिस्सा जोगाएर बसेको तर्फ सङ्केत गर्छ। नेप्सेमा सूचीकृत कम्पनीहरू चालू आर्थिक वर्षको कमाइसमेत जोडेर आगामी वर्षका लागि राम्रो प्रतिफल दिनसक्ने अवस्थामा कम्पनीहरू रहनेतर्फ लागेको स्पष्ट देख्न सकिन्छ। विगतमा बजार उकालो लागेको बेलामा राम्रो प्रतिफल घोषणा गर्ने कम्पनीको सेयर बजार मूल्य एकाएक माथि जाने गरेको अवस्थालाई आत्मसात् गर्दै पनि कम्पनीहरू आफ्नो कमाइबाट कम प्रतिफल दिएर बसेका हुन कि भन्ने देखिन्छ। नेप्से सूचीकृत हाल नगद लाभांश वितरण गरेर बोनस र हकप्रद सेयर वितरण नगर्ने कम्पनीको चुक्ता पुँजी बढ्ने देखिँदैन, त्यसले गर्दा आगामी दिनमा कम्पनीको प्रतिसेयर आम्दानी राम्रो अवस्थामा राख्न मद्दत पुग्ने देखिन्छ। 

अहिले रेमिट्यान्सको बढ्दो अवस्था र सो रकम हाल विभिन्न बैङ्क तथा वित्तीय संस्थामा निक्षेपको रूपमा आकर्षक ब्याजसहित जाने गरेको देखिएको छ। अबका दिनमा जब ब्याजदरमा कमी आएसँगै रेमिट्यान्सबापत नेपाल भित्रिने ठूलो रकम सेयर बजारमा लगानीको रूपमा आउने अवस्था सिर्जना हुने सम्भावना बलियो छ। त्यसलाई ऊर्जा दिने काम हाल रहेका तथा अब आउने ब्रोकर कम्पनी र नयाँ स्टक एक्सचेन्जले गर्न सक्छन्। हाल रहेको ५० वटा ब्रोकर कम्पनीको चुक्ता पुँजी बढाउँदै छन् भने शाखा विस्तारलाई तीव्रता दिँदैछन्। त्यसको अतिरिक्त नयाँ स्टक एक्सचेञ्ज तथा नयाँ आउने ब्रोकर कम्पनीले सिर्जना गर्ने सेयरको उच्च मागको सम्भावनाले पनि हाल नेपाली सेयर बजारमा सही कम्पनीमा गरिएको लगानीको राम्रो प्रतिफल आउने कुरालाई नकार्न सकिँदैन।