• ७ वैशाख २०८२, आइतबार

१५८ जना विद्यार्थीलाई छात्रवृत्ति

blog

रमेश विश्वकर्मा 

गुल्मी, मङ्सिर २० गते । गुल्मीको एक पालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्ति वितरण गरेको हो ।

यस गाउँपालिकाका प्रथम अध्यक्ष स्व.अशोककुमार थापाको स्मृतिमा पाँच लाख रुपियाँको रकम सहित स्थापित अध्यक्ष अशोककुमार थापा छात्रवृत्ति कार्यक्रम अन्तर्गत गुल्मी दरबार गाउँपालिकाका २९ वटा सामुदायिक विद्यालयका १५८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार छात्रवृत्ति रकम कक्षा १ देखि ३ सम्म एक हजार ५०० रुपियाँ, कक्षा ४ र ५ लाई दुई हजार ५०० रुपियाँ, कक्षा ६ देखि ८ सम्म चार हजार रुपियाँ, कक्षा ९ र १० लाई पाँच हजार रुपियाँ र कक्षा ११ र १२ लाई आठ हजार रुपियाँ सहित पाँच लाख रुपियाँ रकमको छात्रवृत्ति वितरण गरिने भएको हो ।

यस पालिकाका वडा नम्बर  ३ र ४ मा छनौट भएका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम अन्तर्गत रून्खादह माध्यमिक विद्यालय वीरबासमा गरिएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, उपाध्यक्ष तारा थापा, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायतको उपस्थिति थियो ।

वडा नम्बर( ५,६ र ७ का सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार विद्यार्थीहरूलाई वितरण गरिसकिएको छ भने बाँकी वडाहरूका सामुदायिक विद्यालयका लक्षित विद्यार्थीलाई पनि क्रमशः वितरण गरिने प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

यस छात्रवृत्तिले रकमको अभावमा शैक्षिक क्रियाकलाप अगाडि बढाउन नसकेका विद्यार्थी र अभिभावक लाभान्वित हुनुभएको छ र गाउँपालिकाले आगामी दिनमा यस छात्रवृत्तिलाई अझै परिष्कृत रूपमा अगाडि बढाउने लक्ष्य लिएको अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो ।