• १२ असोज २०८१, शनिबार

११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस

३२ जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

blog

महिला स्वास्थ्य स्वयमसेविकालाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह सम्मानित गर्नुहुँदै । तस्बिर : काठमाडौं महानगर

गोरखापत्र अनलाइन

काठमाडौँ, मङ्सिर १९ गते । काठमाडौँ महानगरपालिकाले आज ११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा ३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । 

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक वडाबाट १ जना पर्ने गरी सिफारिस भएर आएका महिला स्वास्थ्य स्वयंसेविकालाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सम्मान गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख शाह, उपप्रमुख डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा महानगरको उपस्थिति देखाउनुभएको भन्दै प्रशंसा गर्नुभयो । 

प्रमुख शाहले भन्नुभयो, ‘‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो, नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ, आधारभूत स्वास्थ्य सेवा दिन होस या महामारी नियन्त्रणको अभियान लिएर होस, तपाईँहरू स्वस्थ समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ । तपाईँहरूको यो योगदान अतुलनीय छ ।’’ 

उपप्रमुख डङ्गोलले, समाजका समुदाय समुदायभित्र स्वास्थ्यको पहुँच पु¥याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका ठूलो रहेको बताउनुभयो । उपप्रमुख डङ्गोलले भन्नुभयो, ‘महामारीजस्तो कठिन समयसँग जुध्नका लागि यहाँको क्रियाशीलताले समस्या व्यवस्थापनमा उल्लेखनीय टेवा पुगेको छ ।’

काठमाडौँ महानगरपालिकामा स्वयमसेविकाहरुको व्यवस्थापनका लागि निर्देशिका जारी गर्न कार्यपालिकाबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ । स्वास्थ्य विभागका प्रमुखका अनुसार २०५१ सालबाट महानगरमा सुरु भएको स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थितिलाई निर्देशिकाले व्यवस्थित गर्नेछ । 


उहाँकाअनुसार महानगरमा ५५८ जना स्वास्थ्य स्वयमसेविका रहेकोमा अहिले घटेर ५२८ पुगेको छ । कोही विदेश गएकोले, कसैको मृत्यु भएकाले संख्या घटेको हो । 

देशमा आज १९ औँ स्वयमसेविका दिवसका रुपमा कार्यक्रम गरियो । महानगरले भने २०६८ सालमा तालिम दिएर यसकारण महानगरका लागि ११ औँ दिवस भएको हो । नेपालभर करिब ५२ हजार जना स्वास्थ्य स्वयंसेवक छन् ।