• १२ असोज २०८१, शनिबार

अनधिकृत संरचना निर्माणप्रति नेपाली नागरिकको विरोध

blog

खलङ्गा सीमापुलमा तालाबन्दीका साथै नेपाल–भारतीय नागरिकबीच ढुङ्गा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन खटिएको नेपाल प्रहरी । तस्बिर: लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, मङ्सिर १९ गते । महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएपछि डेढ वर्ष पहिले व्याँसका जयसिंह धामी नदीमा बेपत्ता हुनुभएको थियो । नेपालकै भूमि प्रयोग गरेर केही वर्ष यता नदी किनारमा भारतले अतिक्रमित नेपाली भूमि लिपुलेकसम्म सडक विस्तार गरेको छ । सडक निर्माण क्रममा गरिएको विस्फोटमा उच्छिट्टिएर आएको ढुङ्गा लागेर बाटोमा हिँडिरहेका नौँ वर्षीय पवन महराको ज्यान गयो ।

अन्तर्राष्ट्रिय कानुन विपरीत एकतर्फी ढङ्गले सीमामा पक्की तटबन्ध निर्माण गर्दा दार्चुला सदरमुकाम खलङ्गा बजारक्षेत्र बाढीको उच्च जोखिममा परिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाएकोभन्दै स्थानीय नेपालीले विरोध गरेका छन् ।

ढुङ्गा प्रहारबाट आइतबार केही नेपाली बालबालिका घाइते भएका छन् । सीमामा भारतले शृङ्खलाबद्ध ढङ्गले नेपालतर्फ क्षति हुनेगरी गतिविधि गर्दा समेत नेपाल सरकारले निर्णायक पहल गर्नुको सट्टा मौन बसेको दार्चुलावासीको गुनासो छ ।  

पछिल्लो समय भारतले एकपक्षीय रूपमा नेपाललाई क्षति पुग्नेगरी महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर तटबन्ध निर्माण गरिरहेको छ । नेपालतिर क्षति पुग्नेगरी नदीको धार परिवर्तन गरेको भन्दै स्थानीयले नेपाल–भारत जोड्ने झोलुङे पुलमा आइतबार तालाबन्दी गरेका थिए । 

गत वर्षबाटै निर्माण कार्य थालेको भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरिरहेको छ  । भारतीय पक्षले एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । भारतीय पक्षको डोजरले बंगाबगड क्षेत्रमा नदीको बहाव नेपाल फर्काउने गरी काम थालेको भन्दै दुवै तर्फबाट ढुङ्गा हानाहान भएको थियो । 

ढुङ्गा लागेर नेपालतर्फ प्रेमसिंह कुँवर र पुष्कर सिंह तथा भारततर्फ एक जना डोजर चालक नेपाली घाइते भएका छन् । तटबन्ध निर्माणको विषयमा भारतले बलमिचाइँ गर्न थालेपछि सीमामा तनाव भएको स्थानीय सुरेशसिंह ठगुन्नाले बताउनुभयो । आइतबार दुवै तर्फबाट ढुङ्गा हानाहान भएपछि सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । पुल बन्द भएर वारिपारि स्थानीय रोकिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारतीय पक्षसँग छलफल गरेपछि सीमा पुल अहिले खुलाइएको छ ।

अधिकारीबीच छलफल

भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको छ । आइतबार दुवै देशका नागरिकबीच तटबन्धको विषयलाई लिएर ढुङ्गा हानाहान भएपछि समस्या समाधानका लागि छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । 

छलफलमा तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै क्षति नहुनेगरी काम गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटर नेपालतर्फ बढाएर नदीमा ग्याविन जाली लगाएको छ । ग्याविन जाली हटाएर सहमतिमै तटबन्ध निर्माण कार्य अगाडि बढाउने सहमति भएको प्रजिअ उपाध्यायले बताउनुभयो । 

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले खलङ्गा बजार जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य रोकिनुपर्ने माग गरेका छन् । 

महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा सरकार मूकदर्शक बनेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो । पछिल्लो एक वर्षमा मात्र तीन पटक वारिपारि ढुङ्गा हानाहान हुँदा समेत वार्ताबाट समस्या समाधान गर्न कूटनीतिक पहल नगरिएको उहाँको आरोप छ ।  

सोमबार बिहान मात्रै भारतीय सुरक्षाकर्मीबाट आधारकार्ड भएका बाहेक नेपालीलाई सीमा क्षेत्रमा आवतजावत गर्न नदिने धम्की आएको स्थानीयले बताएका छन् । सधैँ बिहान ७ बजे खुल्ने खलङ्गा सीमा पुल सोमबार दुई घण्टा ढिलो गरी ९ बजेपछि मात्रै खोलिएको थियो ।