• १३ साउन २०८१, आइतबार

राष्ट्रिय परिचयपत्र बनाउने बढे

blog

कलैया समाचारदाता 

बारा, मङ्सिर १९ गते । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र बनाउन बारामा ४१ हजार ८३६ जना व्यक्ति आबद्ध भएको बताउनुभएको छ।

जिल्ला प्रशासन कार्यालय कलैया बाराको सभाहलमा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय कलैया बाराबाट ३५ हजार, इलाका प्रशासन कार्यालय सिमराबाट पाँच हजार ६६३, इलाका प्रशासन कार्यालय कोल्हवीबाट ३६८ र इलाका प्रशासन कार्यालय सिम्रौनगढबाट ८०५ गरी कुल ४१ हजार ८३६ जना व्यक्तिहरू विभागमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो।

मधेश प्रदेशका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन एक जना प्राविधिकसहितको स्टेसन थप गरिएको छ। थप गरिएका बारा, पर्सा र रौतहट जिल्लामा एकै पटक यो सिस्टम लागू भएको छ। बारा जिल्लाको दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौवटा गाउँपालिका गरी १६ वटै पालिकामा बढीमा यही २५ गतेभित्रमा यो सेवा पूर्ण रूपले सुचारु हुनेछ। 

राष्ट्रिय परिचयपत्र बनाउन अनलाइन र हातले भरेको फाराममार्फत एक जनाको परिचयपत्र बनाउन कम्तीमा १५ मिनेट लाग्ने, दिनभरि काम गर्दा बढीमा ४० जनाको बनाउन सकिन्छ। मुलुकको ४२ जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउने कार्य सम्पन्न भएको तथा १३ वटा जिल्लामा जारी रहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो। 

सो विभागका शाखा अधिकृत अभय शेखर अधिकारीले राष्ट्रिय परिचयपत्र बनाउनेसम्बन्धी प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा सहभागी विनोद साह, नाथु साह, राजन पौडेल, मुक्ति यादव र अनिल तिवारीलगायतकाले आ–आफ्ना जिज्ञासा राख्नुभएको थियो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवाललगायत १६ वटै पालिका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो।