• १३ साउन २०८१, आइतबार

कैलाली र कञ्चनपुरमा विद्युतीय पूर्वाधार विस्तार गरिँदै

blog

काठमाडौँ, मङ्सिर १९ गते । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने जनाएको छ । सो क्षेत्रमा विद्युत् आपूर्ति सुधार र खपत विस्तारका लागि प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्न लागिएको प्राधिकरणले जनाएको छ ।  

गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर, धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रका उपभोक्ताले न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या भोग्दै आएका छन् । सो क्षेत्रमा माग बढी हुने तर ३३ केभी लाइनको पूर्वाधार मात्र भएकाले उच्च माग थेग्न नसक्ने अवस्था छ । 

यो अवस्था अन्त्य गर्न प्राधिकरणले कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभी लाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माण तत्काल सुरु गर्न लागेको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राधिकरणको योजनाअनुसार कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोडिँदै छ ।  

घिसिङले गर्मी सुरु हुनुभन्दा पहिले नै विद्युत् आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेस गर्न निर्देशन दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायत प्राधिकरण अधिकारीहरू सहभागी रहेको सो टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमणसमेत गरेको हो । 

कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताउनुभयो । त्यहाँ अहिले कालीगण्डकीको बिजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनुपर्ने बाध्यात्मक अवस्था छ । 

“यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत् आयोजनाहरूको करिब एक सय मेगावाट विद्युत् अत्तरिया सबस्टेसनमार्फत यस क्षेत्रमा वितरण गर्न सकिने हुँदा भोल्टेजको समस्या धेरै समाधान हुनेछ,” घिसिङले भन्नुभयो । 

उहाँले कर्णाली, सेती र महाकाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि चार सय केभीका प्रसारण लाइन पनि निर्माण हुन लागेको जानकारी दिनुभयो । “लमही–छिन्चु, छिन्चु–दोदोधारा, दोदोधारा–नयाँ अत्तरिया (दैजी) चार सय केभी प्रसारण लाइन अध्ययनका क्रममा रहेका छन् ।