• १२ असोज २०८१, शनिबार

निष्ठाको राजनीतिको सम्मान भएको छ : धनराज गुरुङ

blog

प्रमाणपत्र ग्रहण गनुृहुँदै स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका धनराज गुरुङ । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १८ गते।  नेपाली कांग्रेसका नेता तथा नव निर्वाचित प्रतिनिधि सभा सदस्य  धनराज गुरुङले निष्ठाको राजनीतिको सम्मान भएको बताउनुभएको छ।

निर्वाचन अधिकृतको कार्यालय स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि गुरुङले यस्तो बताउनुभएको हो। गुरुङले भन्नुभयो, ‘‘निष्ठाको राजनीतिको उदय भएको छ । नागरिकले यसलाई अनुमोदन गरेका छन्।’’

कांग्रेस उपसभापति रहनुभएका नेता गुरुङले भ्रष्टाचार विरोधी अभियानमा आफू निरन्तर लागि रहने बताउनुभयो। आफूलाई जिम्मेवारी दिएका नागरिकको हितमा सदैव लाग्ने उहाँको भनाइ छ। नेता गुरुङले नागरिकले महसुस गर्ने गरी काम गर्ने जानकारीसमेत गराउनुभयो। 

स्याङ्जा २ को अन्तिम नतिजा शनिबार राति सार्वजनिक भएको हो। ७१ हजार १ सय ९१ मतदाता भएको स्याङ्जा २ मा सङ्घ र प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधि सभा सदस्यमा कांग्रेसका गुरुङ पाँच हजार ६ सय २७ मतान्तरले नेकपा (एमाले)का सचिव पद्मा अर्याललाई पराजित गर्नुभएको हो। 

त्यसैगरी गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र २ प्रदेश (क) बाट भोजराज अर्याल र प्रदेश (ख) मा महेश भट्टराई विजयी हुनुभएको हो। नव निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत रामचन्द्र शर्माले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो।

 

प्रमाणपत्र वितरण कार्यक्रममा सहभागी स्याङ्जा २ बाट निर्वाचित संघ तथा प्रदेशका सदस्य। तस्बिर : राधाकृष्ण डुम्रे