• १२ असोज २०८१, शनिबार

४२ हजार मेट्रिकटन मल मौज्दात छ : कृषि मन्त्रालय

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १८ गते।  देशभरका डिपोमा ४२ हजार ९०० मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपंक्षी विकास  मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार युरिया २१ हजार ७६४ मेट्रिकटन, डीएपी १९ हजार ९८६ मेट्रिकटन र पोटास एक हजार ९३२ मेट्रिकटन मौज्दात छ। 

आर्थिक वर्षको पहिलो चार महिनामा ८६ हजार पाँच सय मेट्रिकटन मल बिक्री भइसकेको उहाँको भनाइ छ।  उहाँले भन्नुभयो, ‘चालू आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनमार्फत दुई लाख ५७ हजार रासायनिक मल खरिदका लागि ग्लोबल टेण्डर आह्वान गरिएकोमा एक लाख १० हजार मेट्रिकटन मल आयात भएकोमा ८६ हजार पाँच सय मेट्रिकटन मल बिक्री भइसकेको छ।’

अहिले १५ हजार मेट्रिकटन रासायनिक मल आयात भइरहेको  उहाँको भनाइ छ। यो वर्ष गहुँबाली तथा तरकारी खेतीका लागि रासायनिक मलको अभाव नहुने सञ्जेलको तर्क छ। ‘‘अहिले मौज्दात रहेको मल र आयात प्रक्रियामा रहेको मलको हिस्सा हेर्दा गहुँबाली तथा तरकारी खेतीका लागि मलको अभाव नहुने देखिन्छ’’, प्रवक्ता सञ्जेलले भन्नुभयो। 

जीटुजीमार्फत् खरिद गर्न लागिएको ३० हजार मेट्रिकटन युरिया मल पुसको पहिलो हप्ता नेपाल आइपुग्ने सञ्जेलको भनाइ छ।  टेण्डर भएको बाँकी मल माघ तथा फागुन महिनामा नेपाल आइपुग्ने छ। 

चालू आर्थिक वर्षमा मल खरिद व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन भएको थियो। साउन महिनामा अर्थ मन्त्रालयले एक अर्ब थप स्रोत सुनिश्चिततासहित विनियोजन गरेको  रकम १६ अर्ब पुगेको छ।