• १२ असोज २०८१, शनिबार

‘स्वास्थ्य क्षेत्रमा थप विकास जरुरी’

blog

काठमाडौँ, मङ्सिर १८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालको स्वास्थ्य क्षेत्रमा अझै विकास हुनुपर्ने बताउनुभएको छ । ‘नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ को आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालमा क्रिटिकल केयरसम्बन्धी सेवामा अझै धेरै विकास हुन बाँकी रहेको बताउनुभयो । उहाँले नेपालमा सीमित स्रोतसाधन भए पनि नेपालले स्वास्थ्य क्षेत्रमा निकै प्रगति गर्दै गएको बताउनुभयो ।

महामारीका बेला क्रिटिकल केयर सेवाको महत्त्व झनै बढ्ने भन्दै उहाँले कोरोनाको प्रकोपमा पनि नेपालले राम्रो काम गरेको बताउनुभयो । पछिल्लो समय आइसियु, भेन्टिलेटरको सङ्ख्या बढेको उहाँले बताउनुभयो । जटिल अवस्थामा पुगेका बिरामीलाई क्रिटिकल केयरले मात्र बचाउन सकिने भन्दै उहाँले क्रिटिकल केयरको विषयलाई अझै प्राथमिकता दिनुपर्ने बताउनुभयो । आफूले क्रिटिकल केयरको विकास र विस्तारका लागि सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष डा. सञ्जय लाखेले नेपालमा क्रिटिकल केयर मेडिसिनका विषयमा धेरै बहस हुन नसकेको बताउनुभयो । उहाँले जटिल अवस्थाका बिरामीलाई क्रिटिकल केयर मेडिसिनले मात्रै बचाउन सकिने बताउनुभयो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान् कोइरालाले नेपालमा क्रिटिकल केयर मेडिसिनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।