• ८ मंसिर २०८१, शनिबार

रमणीय गिडी

blog

गोविन्दप्रसाद पाण्डे

कर्णालीमा एउटा भनाइ छ– मानसरोवर ताउलो, रारा ताल थाल र गिडी ताल बटुको हो । यस भनाइबाट के प्रस्ट हुन्छ भने मानसरोवर धार्मिक रूपमा धेरै महत्व बोकेको र ठूलो ताल हो । त्यसैले यस ताललाई ताउलो (डेक्ची)सँग तुलना गरिएको छ । नेपालकै ठूलो ताल रारा हो । यस ताललाई थालीसँग तुलना गरिएको छ । रारा तालको पूर्वमा छायानाथ, ऋणमोक्ष र थार्पा मष्टो धार्मिक पीठ छन् । तेस्रो कोटीमा पर्ने गिडी ताललाई बटुको (कचौरा)सँग तुलना गरिएको छ । गिडी तालनजिक स्वामी कार्तिक ठाकुरज्यू, भुरीचुला माई, गणेश गुफा, नाचलढुङ्गीजस्ता धार्मिक स्थल छन् । 

प्राकृतिक सम्पदाले भरिपूर्ण गिडी ताल कर्णाली प्रदेशको जुम्लास्थित तातोपानी गाउँपालिका–४, गिडीखोला गाउँको सिरानमा छ । यो ताल समुद्र सतहदेखि तीन हजार ४८२ मिटर उचाइमा अवस्थित छ । यसको वरिपरि दर्जनौँ पाटन, दह, धार्मिक स्थल तथा जडीबुटी छन् । तालको दक्षिण–पश्चिममा फुलचाउल्या, लामाचौर, ढाग्रे, गैरी गुम, एैरीजाल, भदाल्या, गाडखर्क, खानी, माझपाटन, बजेडी पाटन छन् । उत्तर–पूर्वमा दुनी पुनाली, चाउल्या कुनिक्या, नाना हाँका, ठूला हाँका, आडे दह, विष्टज्यू, हुड्के दह, ठाकुरज्यू पाटन छन् । यस तालको मुख्य स्रोत ठाकुरज्यू दह, विष्टज्यू दह, नदै दह, शङ्ख, पाले दह, राक्षस दह हो । 

वरिपरिका पाटन क्षेत्रमा खानी दह, ढाण दह, लडे दह, घोडापाइला दह, जोगिनी दहजस्ता दर्जनाँै दहसमेत छन् । यस क्षेत्रका पाटनमा यार्सागुम्बा, जटामसी, पाँचऔँले, खिरौलो, पदमचाल, भुतकेस, सिलाजितजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् । कस्तुरी, घोरल, थार, रेड पाण्डाजस्ता जनावर र डाँफे, कालिज, फग्रास, ढुकुरजस्ता पन्छीसमेत पाइन्छन् ।

गिडी ताल र पाटन क्षेत्रमा जाने 

उत्तर–पश्चिमी नाका फुलचाउल्या हो । यस नाकाबाट पाटन प्रवेश गर्नलाई कर्णाली राजमार्गको ऐरेनी, हाँकु, गिडीखोला, भाडु, छकल्या पानीको बाटो प्रयोग गर्नुपर्छ । फुलचाउल्याबाट पूरै पाटनको मुहार देखिनुका साथै दक्षिण–पूर्वमा विराजमान प्रकृतिको सुन्दर छटा मानिने रमणीय गिडी तालसमेत देखिन्छ । यस पाटनमा वर्षाको समयमा जाजरकोटका किसान भैँसी पाल्न ल्याउँछन् । गिडी ताल क्षेत्रमा आउने पर्यटकलाई बस्न सुविधासम्पन्न स्थान फुलचाउल्या नै हो । 

लामाचौर पाटनबाट गिडी ताल र नदै डाव हुँदै जाजरकोटको सिमाना मुल्साम लेक जाने बाटो छुट्टिन्छ । यहाँका पाटन क्षेत्रमा भेडाबाख्रा र घोडापालन गर्न जेठदेखि असोजसम्म विभिन्न गाउँबाट आउँछन् । भेडा गोठाला भोटे कुकुर साथमा लिएर घतौरा (भोजपत्र र निगालाबाट बनाइएको अस्थायी निवास) बनाएर बस्ने गर्छन् । घोडालाई भने जेठतिर पाटनमा छोड्छन् र बेलाबेलामा नुन दिन जान्छन् । असोजमा भने घर ल्याउँछन् । घोडाघोडी पहिचान गर्नलाई दायाँ तथा बायाँ पाटामा पन्यु वा फलाम तताएर दाख हाल्ने गरिन्छ । एक सर्के, चार सर्के, आसी, बाउस्या, त्रिसुल्याजस्ता दाख चिह्नका रूपमा राखिन्छ ।

ताल तथा पाटन क्षेत्रमा भुरीचुला, नदै डाव, ठाकुरज्यू, विष्टज्यू, गणेश थान, देउता निस्केका गैरा, नाचल ढङ्गी, भण्डार वनलगायत धार्मिक क्षेत्र छन् । ताल क्षेत्रमा भण्डार, ओग्ल्या, दोजाम, छकल्यापानी वन छन् । वनमा धूपी, सल्लो, खर्सु, भोजपत्र, गोब्रे सल्लो, लौठे सल्लो, गुराँस, ओखर, चुमलाया, निगालाजस्ता वनस्पति पाइन्छन् । त्यस्तै पाँचऔँले, गुच्ची च्याउ, यार्सागुम्बा, जटामसी, पदमचाललगायतका जडीबुटी पाइन्छन् । यहाँ कस्तुरी, घोरल, थार, बँदेल, बाघ, भालु, रतुवा, ब्वाँसोलगायत जनावर पाइन्छन् । चराचुरुङ्गीमा डाँफे, कालिज, फग्रास, ढुकुर आदि पाइन्छन् ।

यो तालबाट निस्कने पानीले जुम्लाको तातोपानी तथा तिला गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ । ताल तथा पाटनलाई समेटेर पर्यटन पूर्वाधार विकास गरी आन्तरिक तथा बाह्य पर्यटन विकास गर्नुपर्ने देखिन्छ । पर्यटन विकासका लागि डीपीआर बनाई फुलचाउल्यासम्म मोटर बाटो, बाँकी खण्डमा व्यवस्थित र सुरक्षित पदमार्ग बनाउनुपर्छ । यहाँका धार्मिक क्षेत्र र दहको संरक्षण तथा प्रवद्र्धन गर्न सम्बन्धित निकायले ध्यानु दिनुपर्छ । 

ऋषिमुनिको वासस्थानका रूपमा रहेको भण्डार वनलाई धार्मिक वन घोषणा गरी वन्यजन्तु आरक्षणका रूपमा विकास गरिनुपर्छ । गिडी तालबाट बग्ने गिडी नदीका विभिन्न ठाउँमा गिडीखोला ए, बी, सी बिन्दु बनाई जलविद्युत् उत्पादन गर्न सकिन्छ । यसअघि गरिएका मुहान दर्तालाई खारेज गर्नुपर्छ । गिडी ताललाई मानसरोवर र रारापछिको तालका रूपमा चिनिन्छ । यस तालले आफ्नो वरिपरि बाइस पाटन, दर्जनाैँ धार्मिक क्षेत्र, बहुमूल्य वनस्पति र वन्यजन्तुलाई अँगालो मारेर बसेको छ । यस क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी स्वदेशी तथा विदेशी पर्यटकका लागि एक रमणीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । यस कार्यमा सङ्घ, प्रदेश, स्थानीय तह, निजी तथा गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य तथा सबै सरोकारवालाको पहल आवश्यक छ ।