• १२ असोज २०८१, शनिबार

राष्ट्रपतिबाट अपाङ्गता दिवसको शुभकामना

blog

काठमाडौँ, मङ्सिर १७ गते । अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्र सङ्घको अग्रसरतामा ३० वर्ष अघि देखि यो दिवसकाे अवसरमा उहाँले  शुभकामना सन्देश दिनुभएको हाे । 

यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपाङ्गता भएका नागरिकहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गरेको उहाँले बताउनुभयाे । अपाङ्गता भएका व्यक्तिहरुको अवस्थालाई समाजले हेर्ने दृष्टिकोणमा समेत रूपान्तरण गर्दै सभ्य समाजको निर्माण गर्न यस दिवसले  अभिप्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचान, मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचका साथै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा अपाङ्गता भएका व्यक्तिलाई राज्यका सबै क्षेत्रमा विभेदरहित अवसर प्रदान गर्नुपर्ने संविधानको मार्गदर्शन रहेको सन्देशमा उल्लेख छ ।

अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउने विषयमा सम्बन्धित निकायको यथेष्ट ध्यान जान आवश्यक रहेकोले शिक्षा, स्वास्थ्य र रोजगारीबाट अझै पनि वञ्चित हुने अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सुविधा र अवसरहरूमा समान पहुँच स्थापित गर्नु राज्यको प्राथमिकता हुनुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।