• २५ वैशाख २०८१, मङ्गलबार

कोरोना बीमा

पहिलो चरणमा १६ हजारको बीमा भुक्तानी हुने

blog

काठमाडौं, मङ्सिर १४ गते। पहिलो चरणमा १६ हजारको कोरोना बीमाको भुक्तानी हुने भएको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार पहिलो चरणमा करिब १६ हजार बिमितलाई भुक्तानी दिने तयारी भएको हो। ‘पहिलो चरणमा वितरण गरिने बीमा दाबी भुक्तानी सबै बिमितलाई वितरण गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘सुरुमा करिब १६ हजारलाई बीमा भुक्तानी दिइने छ। बाँकीलाई सरकारले रकम निकासा गरेपछि वितरण गर्दै जानेछौँ।’ 

पहिलो चरणमा एक करोड ८१ लाख रुपियाँ वितरण हुनेछ । वितरणको प्रक्रिया अब एक/दुई दिनमै सुरु हुनेछ। बीमा भुक्तानीको लागि सरकारले १ अर्ब निकासा गरिदिएपछि बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा प्राधिकरणले संयुक्त रूपमा ८१ करोड रुपियाँ थप गरेर कुल एक अर्ब ८१ करोड रुपियाँ वितरणको बाटो खुलेको हो।

कोरोना बीमालेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले बीमा गरेका छन्। बीमा गरेकामध्ये एक लाख ६२ हजार ३४६ जनाले बीमा भुक्तानी दाबी गरेका छन्। दाबीमध्ये ५० हजार ४४७ जनाले भुक्तानी पाइसकेका छन्। सरकारले भुक्तानी गर्नुपर्ने रकम साढे १० अर्ब छ। कोरोना बीमाको रकम समयमा भुक्तानी नहुँदा बीमाको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेपछि प्राधिकरणले भुक्तानी दिने तयारी गरेको हो। 

प्राधिकरणले बीमा रकम भुक्तानी गर्न नसकेपछि सरकारले छुट्टै रकम विनियोजन गरेको हो। बीमा प्राधिकरणका अध्यक्ष सिलवालसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि विष्णुप्रसाद पाण्डेय, मनोजरत्न शाही र केशब गुरुङ्ले तयार पार्नुभएको भिडियो कुराकानी : 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।