• १२ असोज २०८१, शनिबार

ओखलढुङ्गामा १४ जनाको जमानत जफत

blog

शेरबहादुर राई

ओखलढुङ्गा, मङ्रसि १४ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ओखलढुङ्गाका १४ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधि सभातर्फका ६ जना र प्रदेश सभातर्फका आठ जनाको उम्मेदवारको धरौटी जफत भएको हो ।

निर्वाचन क्षेत्र नं. (क) मा तीन र निर्वाचन क्षेत्र नं. (ख) तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार हुनुभएका पाँच  जना उम्मेदवारको जमानत जफत भएका छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार बन्नुभएका नेपाली काँग्रेस र नेकपा (एमाले) बाहेकका अन्य दलका सबै उम्मेदवारले १० प्रतिशत मत कटाउन सक्नुभएको छैन ।

प्रतिनिधि सभातर्फका जनता समाजवादी पार्टीका जुद्धबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्की, मङ्गोल नेशनल अर्गनाइजेशनका बिर्जबहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिकबहादुर बाँस्तोला, नेपाल मजदुर किसान पार्टीका कुमार तामाङ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी ङिमाल्हमु शेर्पाको जमानत जफल भएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले बताउनुभयो । 

प्रतिनिधी सभा सदस्यतर्फ जिल्लामा ६४ हजार ९९२ मत खसेको थियो । जसमा नेपाली काँग्रेसका रामहरि खतिवडाले ३३ हजार ५५६ मत ल्याएर नेकपा (एमाले)का यज्ञराज सुनुवारलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । सुनुवारले २६ हजार ७३८ मत प्राप्त गर्नुभएको थियो ।

यसका साथै जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७, राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४, मङ्गोल नेशनल अर्गनाइजेशनका बिर्जबहादुर थापामगरले ३५६, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिकबहादुर बाँस्तोला २२२, नेपाल मजदुर किसान पार्टीका कुमार तामाङ ८८ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी ङिमाल्हमु शेर्पाले १४ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, प्रदेश सभा क्षेत्र नं. (क) तर्फ नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार र नेकपा (एमाले)का अम्बिरबाबु गुरुङ बाहेक अन्य सबै उम्मेदवारले जमानत गुमाउनुभएको छ । जनता समाजवादी पार्टीका खेमराज खड्का, मङ्गोल नेशनल अर्गनाईजेशनका लाक्पा शेर्पा र नेपाल मजदुर किसान पार्टीका नवराज खत्रीको जमानत जफत भएको हो । 

प्रदेश सभा क्षेत्र (क) तर्फ ३१ हजार ४६३ खसेको थियो । यस क्षेत्र बाट नेपाली काँग्रेसका प्रदीपकुमार सुनवारले १४ हजार ९१६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एकाले)का अम्मिरबाबु गुरुङले १४ हजार ५५६ मत प्राप्त गर्नुभएको थियो । 

सात जना प्रदेश सभाका लागि उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्र (ख) पाँच जना उम्मेदवारले धरौटी गुमाउनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशनका बुद्धिमान राई, जनता समाजवादी पार्टीका शान्तबहादुर बि.क, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्पराज पोखरेल, हाम्रो नेपाली पार्टीका हीराबहादुर कटवाल र स्वतन्त्र उमेदवार टङ्कनाथ अधिकारीको जमानत जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

यस क्षेत्रमा ३३ हजार ५२९ खसेको थियो  । नेकपा माओवादी केन्द्रका बाबुराम गौतमले १५ हजार ७३८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका  निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ज्ञानबहादुर खड्काले १४ हजार ६४० मत प्राप्त गर्नुभएको छ भने अन्य उम्मेदवारहरुले १० प्रतिशत मत कटाउन सकेका छैनन । प्रतिनिधि सभातर्फ दश हजार र प्रदेश सभातर्फका उम्मेदवारको पाँच हजारका दरले जमानत जफत भएको हो ।