• १२ साउन २०८१, शनिबार

सोसलिस्ट इन्टरनेशनलको अध्यक्षमा स्पेनका प्रधानमन्त्री सर्वसम्मत चयन

blog

काठमाडौं, मङ्सिर १३ गते । सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनबाट स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मतले चयन हुनुभएको छ ।

स्पेनको म्याड्रिडमा २५ देखि २७ नोवेम्बरसम्म जारी रहेको समाजवादीहरूको साझा संस्था सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनमा स्पेनका प्रधानमन्त्री सान्चेज अध्यक्ष सर्वसम्मतले चयन हुनुभएको हो । 

त्यस्तै, महाधिवेशनमा नेपाली कांग्रेसको तर्फबाट खगेन्द्र जीसी उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । उहाँ नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्व अध्यक्षको रूपमा प्रतिनिधित्व गर्नुभएकाे छ । यसअघि कांग्रेसका सभापतिद्वय बिपी कोइराला र शेरबहादुर देउवाले विश्वभरिका समाजवादीहरूको साझा संस्था सोसलिस्ट इन्टरनेशनलको नेपाली कांग्रेसको प्रतिनिधित्व गरी उपाध्यक्ष जितेर प्रतिनिधित्व गर्नुभएको थियो ।


नेपाल र नेपाली कांग्रेसको तर्फबाट जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष जिसी  र कांग्रेसका पूर्व महासमिति सदस्य वेदप्रसाद खरेल सहभागी हुनुहुन्छ । 

कांग्रेस सोसलिस्ट इन्टरनेशनलको सदस्य रहँदै आएको छ । महाधिवेशनको क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगबारे उल्लेख गर्नुभएको जानकारी महाधिवेशनमा सहभागी खरेलले दिनुभयो ।

भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्न सोसलिस्ट इन्टरनेशनलका अधिकतम ३६ उपाध्यक्ष हुन सक्छन् । तर, उम्मेदवारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिक क्षेत्रबाट आठजनाको उम्मेदवारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्ष थिए । हाल विधान संशोधन गरेर ३६ जना बनाइएको हाे ।

महाअधिवेशनमा विश्व भरिका ११७ देशका ३५० जनाको सहभागिता छ । सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने सान्चेज निर्विरोध निर्वाचित हुनुभएको हो । घानाकी बेनेडिक्टा लासी सोसलिस्ट इन्टरनेशनलको पहिलो महिला र अश्वेत महासचिव बन्नुभएको छ ।

पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनु अघि इन्टरनेशनलको नेतृत्व गर्नुभएको थियो भने सन् २०१७ मा उहाँ संयुक्त राष्ट्र महासचिव बन्नुभएको थियो ।महाधिवेशनमा जिसी र खरेलले कांग्रेस लैङ्गिक समानता, आर्थिक अभिवृद्धिमा समाजवादीको भूमिकाका बारेमा कुरा राख्नुभएको थियो ।