• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन

blog

काठमाडौँ, मङ्सिर १३ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवारले निर्वाचनको अवधिमा भएका खर्चको विवरण पेस गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको छ । 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य र समानुपातिकको बन्द सूचीमा नाम भएका उम्मेदवारहरूले निर्वाचन प्रयोजनमा भएको खर्चको विवरण बुझाउन आयोगले निर्देशन दिएको छ । निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र पेस गरेका उम्मेदवारहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले पैँतीस दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । 

मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम [सामाजिक सञ्जाल समेत], कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्चको विवरण उल्लेख गरी पेस गर्नुपर्ने आयोगले जनाएको छ । यसै गरी उम्मेदवारले बैङ्क खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेस गर्न निर्देशन दिएको छ । 

यता समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेस गरेका राजनीतिक दलहरूले निर्वाचन परिणाम घोषणा भएको मितिले पैँतीस दिनभित्र पेस गर्नुपर्ने जनाएको छ । प्रतिनिधि सभा सदस्यको लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ९३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेस गर्न जनाएको छ । 

मतदाता नामावली खरिद, सवारी साधन [हेलिकप्टर प्रयोग गरेको भए सो समेत], प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम [सामाजिक सञ्जालसमेत], कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्च पेस गर्नुपर्नेछ ।