• १३ असोज २०८१, आइतबार

बाँकेमा एमाले पहिलो, जसपा दोस्रो ठूलो दल

blog

सिराज खान 

नेपालगन्ज, मङ्सिर १३ गते । मङ्सिर ४ गते भएको निर्वाचनबाट बाँकेमा मतका हिसाबले एमाले पहिलो ठूलो पार्टी बनेको छ । 

जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य जितेको एमालेले प्रत्यक्षतर्फ ४९ हजार ३३१ मत पाएर पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि एमाले पहिलो पार्टी बनेको छ । एमालेले समानुपातिकतर्फ ४५ हजार ३०३ मत पाएको छ । उक्त पार्टीले प्रत्यक्ष र समानुपातिक गरी ९४ हजार ६३४ मत पाएको छ ।

बाँकेमा काँग्रेस दोस्रो र जनता समाजवादी पार्टी तेस्रो बनेका छन् । काँग्रेसले प्रत्यक्षतर्फ ३३ हजार ५०० र समानुपातिकतर्फ ४४ हजार ९७० गरी ७८ हजार ४७० मत पाएको छ । जसपाले ३० हजार ५०४ प्रत्यक्षतर्फ र समानुपातिकतर्फ २७ हजार १८८ गरी ५७ हजार ६९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा एक प्रतिनिधिसभा जितेको राप्रपा चौथो स्थानमा छ । सो दलले २९ हजार ५७७ मत पाएर चौथो भएको छ । प्रत्यक्षतर्फ पाँचौँ स्थानमा रहेको माओवादी केन्द्र समानुपातिकमा कम मत पाउँदा पछाडि परेको छ ।

माओवादी केन्द्रले प्रत्यक्षतर्फ १९ हजार ६३२ र समानुपातिकतर्फ १८ हजार ३१२ मत गरी ३७ हजार ९४४ मतका साथ छैटौँ र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १८ हजार ८७१ र समानुपातिकतर्फ २२ हजार ८६१ मत गरी ४१ हजार ७३२ मतका साथ पाँचौँ स्थानमा छ । प्रत्यक्षतर्फ ११ हजार ४६५ र समानुपातिकतर्फ १६ हजार ४३९ मत गरी २७ हजार ९०४ मतका साथ नागरिक उन्मुक्ति पार्टी सातौँ स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभातर्फ पनि एमाले पहिलो

प्रदेशसभाको प्रत्यक्षतर्फ पनि बाँकेमा एमाले पहिलो पार्टी बनेको छ । प्रत्यक्षतर्फ ५५ हजार ८५८ मत पाएको एमालेले समानुपातिकतर्फ ४५ हजार ३०४ मत पाएको छ ।

काँग्रेसले प्रत्यक्षतर्फ ४३ हजार २०८ र समानुपातिकतर्फ ४९ हजार ८६७ मतका साथ दोस्रो स्थानमा छ । दुई प्रदेशसभा सदस्य जितेको जसपाले प्रत्यक्षतर्फ २९ हजार ३६४ मत र समानुपातिकतर्फ २६ हजार ५७८ मत पाएर तेस्रो हुँदा प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी चौथो स्थान बनाउँदै प्रत्यक्षतर्फ २२ हजार ८१८ र समानुपातिकतर्फ २० हजार ९ मत पाएको छ ।

एक प्रदेशसभा जितेको माओवादी केन्द्र पाँचौँ स्थानमा छ । सो दलले १४ हजार ७३७ मत प्रत्यक्षतर्फ र समानुपातिकतर्फ २१ हजार ७०७ मत प्राप्त गर्दा राप्रपाले प्रत्यक्षतर्फ ७ हजार २७५ र समानुपातिकतर्फ १९ हजार ५६० मत पाएको छ ।