• ९ मंसिर २०८१, आइतबार

जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ : उपाध्यक्ष नेम्वाङ

blog

काठमाडौं, मंसिर १२ गते । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचन परिणामले लोकतन्त्रको सुन्दर र स्वास्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताउनुभएको छ । इलामबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई काठमाडौं आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । निर्वाचनले दलहरू मिलेर देश र जनताका हितमा काम गर्न प्रष्ट सन्देश दिएको उहाँको भनाइ छ । 

संविधान सभा अध्यक्ष नेम्वाङले भन्नुभयो, “जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न थिए । निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ ।” लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्व सभामुख नेम्वाङले जनताले दलहरू मिलेर देशको हितमा काम गर्न दिएको निष्कर्षअनुरूप आफ्नो दल अघि बढ्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “मलाई विश्वास छ, हामी मिलेर अघि बढ्दा मात्रै देश ठिक दिशातर्फ अघि बढ्छ ।” अहिलेको सफल निर्वाचनले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको बताउँदै नेता नेम्वाङले थप्नुभयो, “संविधान र नयाँ जनादेशको सन्देशअनुरूप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ ।” मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै पूर्व सभामुख नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा राखी अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिनुभयो ।