• १३ असोज २०८१, आइतबार

समानुपातिकमा एमाले एक लाख ३४ हजार मतान्तरसहित अग्रस्थानमा

blog

काठमाडौं, मङ्सिर १२ गते । समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको तीन बजेसम्मकाे तथ्याङ्कअनुसार ९३ लाख १७ हजार ८१२ मतगणना गर्दा एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ भने सोही समयमा नेपाली कांग्रेसको २४ लाख ७५६ प्राप्त गरेको छ । एमालेले एक लाख ३४ हजार ४८३ मतले अग्रता लिएको छ । 

नेकपा (माओवादी केन्द्र)ले १० लाख ६६ हजार ५१३ मतसहित तेस्राे, राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६३ हजार ५१३ चाैथाे र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५४ हजार ६०९ मतसहित पाँचाैं बनेकाे छ । 

त्यस्तै, जनता समाजवादी पार्टीको तीन लाख २९ हजार ८९० मत पाएर छैटाैं स्थानमा छ ।

यता, ३ प्रतिशतकाे थ्रेसहाेल्ड काट्नका लागि जनमत पार्टीलगायतले मतगणनामा मतसङ्ख्या बढाउँदै लगेकाे छ। साे पार्टीले दुई लाख ६६ हजार एक सय मत प्राप्त गरेको छ । यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ५३ हजार १४९ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार ९६१ मत पाएकाे छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र हाम्रो नेपाली पार्टीले ५२ हजार ८४७ मत प्राप्त गरेको छ । 

मङ्गोल नेशनल अर्गनाइजेशनको ४५ हजार ५६१, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८८०, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार २४३, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)ले २६ हजार ११२ मत प्राप्त गरेका छन् ।  त्यस्तै, अन्य पार्टीले दुई लाख १६ हजारभन्दा बढी मत प्रप्त गरेका छन् ।