• ८ मंसिर २०८१, शनिबार

प्रतिनिधि सभामा ८ जना महिला नेत्रीहरु विजयी

blog

महिला नेत्रीहरु क्रमशः रेखा शर्मा, विद्या भट्टराई, रन्जिता श्रेष्ठ, डा. तोसिमा कार्की, जुली कुमारी महतो, ज्वाला कुमारी साह, सीता गुरुङ र सोबिता गौतम

काठमाडौं, मंसिर ११ गते । प्रतिनिधि सभा सदस्यमा २२५ महिला उम्मेदवारमध्ये ८ जना विजयी भएका छन् । नेकपा (एमाले) बाट जुली कुमारी महतो ३३ हजार ३८८ मतसहित धनुषा–३ बाट विजयी हुनुभयो । बारा–३ बाट ज्वाला कुमारी साह २० हजार २५१ मत र कास्की–२ बाट विद्या भट्टराई १६ हजार ९९८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट दाङ–२ मा रेखा शर्मा २६ हजार ८८० मतसहित विजयी हुनुभयो । उहाँले १९७ मतको मतान्तरले नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पराजित गराउनुभयो । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ फराकिलो मतान्तरले विजयी हुनुभयो । नेपाली कांग्रेसका सीता गुरुङ १९ हजार ७०७ मतसहित तेह्रथुम–१ मा विजयी हुनुभयो ।

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोबिता गौतम १५ हजार २३८ मतसहित विजयी हुनुभयो । उहाँसँग पूर्व सभामुख माओवादी केन्द्रकी ओनसरी घर्तीमगर पराजित हुनुभयो । माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसाल ललितपुर – ३ मा २२ हजार मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग पराजित हुनुभयो । 

महिलाहरू केही सङ्ख्यामा विजयी भए पनि धेरै पराजित हुनुभयो । दाङ–१ मा एमालेकी सचेतक शान्ता चौधरी पाँच हजारको मतान्तरले नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीसँग पराजित हुनुभयो ।

यस्तै, उपसभामुख एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल अर्घाखाँची–१ मा  करिब १७ सय मतान्तरले एमालेका टोपबहादुर रायमाझीसँग पराजित हुनुभयो ।

माओवादी केन्द्रबाट काठमाडौं–९ मा कल्पना धमला, काठमाडौं–१० मा अन्जना बिशंखेले चुनावी हारकाे सामना गर्नुभयो । काठमाडौं – ७ मा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई रास्वपाका गणेश पराजुलीसँग ९८ हजार ७४३ मतले करिब २६ सय मतान्तरले पछि पर्नुभयो । 

पूर्वमन्त्री एवम् एकीकृत समाजवादीकी रामकुमारी झाँक्री गुल्मी–२ मा एमालेका गोकर्ण विष्टसँग करिब दुई हजारको मतान्तरले पछि पर्नुभयो ।

प्युठान–१ मा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, दाङ – ३ मा एमालेकी कोमल वली, निरुदेवी पाल, दैलेख – १ मा राप्रपाकी कुन्ती कुमारी शाही, कञ्चनपुर–१ मा पूर्व मन्त्री एवम् माओवादी केन्द्रकी विना मगर, मकवानपुर–१ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना', चित्रलेखा यादव सिरहा–२ मा पराजित हुनुभयो ।

प्रतिनिधिसभा सदस्यमा देशभर कुल उम्मेदवार २ हजार ४१२ मध्ये पुरुष २ हजार १८७ र महिलाको सङ्ख्या २२५ मात्रै रहेको थियो ।

प्रदेश सभाको विवरण 

प्रदेश १ अन्तर्गत प्रदेशसभामा विजयी हुनुहुने महिलाहरूमा झापाबाट सबिना बजगाईँ हुनुहुन्छ । मधेश प्रदेशमा महोत्तरीबाट शारदादेवी थापा, लोसपाका उम्मेदवार महोत्तरीबाट रानी कुमारी तिवारी विजयी हुनुहुन्छ । बागमती प्रदेश सभाकाे लागि काठमाडौंबाट कांग्रेसकी हरिप्रभा खड्गी, सिन्धुपाल्चोकबाट कांग्रेसकी मसिना खड्का, माओवादी केन्द्रकी राधिका तामाङ नुवाकोटबाट निर्वाचित हुनुहुन्छ ।

गण्डकी प्रदेश सभाकाे लागि एमालेकी सीताकुमारी सुन्दास, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट एमालेकी पदमा जिसी विजयी हुनुभएको छ । लुम्बिनी प्रदेशसभामा  बाँके जिल्लाबाट माओवादी केन्द्रकी कृष्णा केसी विजयी हुनुहुन्छ ।

माओवादी केन्द्रकी कुमारी तामाङ मकवानपुरबाट, नेकपा (एकीकृत समाजवादी)की खिनु लङ्वा इलाम र नेकपा (एकीकृत समाजवादी)की रमा आले मगर काठमाडाैंबाट  र नेकपा (एकीकृत समाजवादी) सर्लाहीबाट वेची लुङ्गेली विजयी महिला हुनुहुन्छ । 

प्रदेशसभातर्फ हालसम्म प्रदेश १ मा ४९, मधेशमा ६३, बागमतीमा ६४, गण्डकीमा ३४, लुम्बिनीमा ५२, कर्णालीमा २१ र सुदूरपश्चिम प्रदेशमा जम्मा २६ उम्मेदवार विजयी हुनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेत्री सुजाता कोइराला मोरङ –२ मा नेकपा (एमाले) का ऋषिकेश पोखरेलसँग करिब १२ सय मतान्तरले पछि पर्नुभयो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।