• १३ असोज २०८१, आइतबार

स्याङ्जा २ विवाद : छानबिन समितिद्वारा आज प्रतिवेदन बुझाउँदै

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १२ गते । मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन । 

चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिइरहेका छन् । 

निर्वाचन आयोगले गठन गरेको आयोगका सहसचिव फणिन्द्र गौतम नेतृत्वको छानबिन टोलीले आज (सोमबार) आयोगसमक्ष प्रतिवेदन बुझाउँदै छ । 

टोली जिल्लामा आएर स्थलगत अवलोकन तथा सरोकारवालाहरुसँग छलफल गरेको थियो । टोली जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनैतिक दललगायतसँग छलफल गरेको थियो ।

राजनीतिक दलसँग छुट्टाछुट्टै छलफल गरेको टोलीले मतदान अधिकृतहरुसँग पनि भेटेको थियो । तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिएको थियो । 

चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।

क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले निर्वाचन आयोगको निर्देशन कुरिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीलाई आयोगले जे भन्छ त्यही गर्ने हो, हामी त्यसकै पर्खाइमा छौं । ’

स्याङ्जा २ को बारेमा आज निर्णय आउने भन्दै दलहरु बिहानैबाट धर्ना दिइरहेका छन् । नेपाली कांग्रेसले तत्कालै मतगणना हुनुपर्ने र नेकपा (एमाले) पुनः मतदान हुनुपर्ने भन्दै धर्ना दिइरहेका छन् । सो क्षेत्रबाट कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।