• १३ असोज २०८१, आइतबार

हुम्लामा प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण

blog

प्रमाण पत्र वितरणपछि नवनिर्वाचित सदस्यसँग मुख्य निर्वाचन अधिकृत सापकोटा । तस्बिर - राजन रावत, हुम्ला

राजन रावत 

हुम्ला मङ्सिर १२ गते । हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नव निर्वाचित सदस्यहरूको घोषणा र प्रमाणपत्र वितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो ।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभामा छिरिङ डम्डुुल लामा ( कार्चेन) र प्रदेश सभा (क) मा रणसिंह परियार तथा (ख) क्षेत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई निर्वाचित भएको औपचारिक घोषणा गर्नुभयो ।

घोषणापछि मुख्य निर्वाचन अधिकृत सापकोटाले निर्वाचित सदस्य पदको प्रमाण पत्र समेत प्रदान गर्नु भएको हो । मङ्सिर १० गते शनिबार मतगणना कार्य सम्पन्न भएको भए पनि सो कार्यक्रम सोमबार गरिएको हो ।

सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विकासका लागि अब जिल्लाका सबै जिम्मेवार पक्ष लाग्नुपर्ने बताउनुभयो । उहाँले जनताले अब जिम्मेवारी दिएको र त्यसलाई सफल रूपमा भूमिका निर्वाह गर्ने जिम्मा जनप्रतिनिधिमा आएको बताउनुभयो । 

उहाँले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबै जिम्मेवार पक्षलाई धन्यवाद समेत दिनुभयो । त्यसैगरी, प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य छिरिङ डम्डुल लामाले जनताले दिएको माया अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफू सकेसम्म जिल्लाको विकासका लागि काम गर्ने तर नसके बिग्रिने काम कहिल्यै नगर्ने बताउनुभयो । त्यसैगरी, प्रदेश सभा (क) क्षेत्रका सदस्य रणसिंह परियारले दलितको छोरोलाई जनताले पहिलो पटक पत्याएको बताउँदै अब प्रदेश सभामा दलितका मुद्दालाई बुलन्द रूपमा उठाउने बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाका प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदबाट जिल्लाको विकासका लागि योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सापकोटाले छिटपुट विवाद घटनाबाहेक समग्रमा जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सहयोगी सबै निकायलाई धन्यवाद दिनुभयो ।