• ९ मंसिर २०८१, आइतबार

सन्दर्भ : विवाह पञ्चमी

मिथिला संस्कृतिको महानता

blog

पौराणिक गाथाअनुसार प्राचीन मिथिला राज्यको राजधानी जनकपुर थियो । अयोध्याका महाराज दशरथका पुत्र रामको विवाह राजा जनककी पुत्री जानकीसँग सु–सम्पन्न भएको अवसरमा हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिनलाई विवाह पञ्चमीका रूपमा मनाइन्छ । यो धार्मिक परम्परा, संस्कृति तथा शुभ–संस्कारलाई उत्कृष्ट नमुनाका रूपमा लिइन्छ । 

यो उत्सव देश विदेशका आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत विशेष आकर्षण बन्ने गरेको छ । हजाराैँ सङ्ख्यामा तीर्थयात्री यो उत्सव हेर्न जनकपुर पुग्छन् । हिन्दुबाहेक अन्य धर्मावलम्बी पनि विवाह पञ्चमीमा जनकपुर पुग्ने गर्छन् । प्रसिद्ध धर्मग्रन्थ रामायण तथा हाम्रो मैथिली र मिथिला संस्कृति, रीतिरिवाजका आधारमा यो शुभ–विवाह विशेष महत्वका साथ मनाइन्छ । विवाह पञ्चमी विधिवत् तथा वैवाहिक धार्मिक पद्धतिअनुकूल सप्ताहव्यापी मनाइन्छ । 

यो उत्सवको शुभारम्भमा रामसीताको फोटोसहित नगर दर्शन वा नगर परिक्रमा गरिन्छ । नगर परिक्रमा गर्न ठूलो जनसमुदाय सहभागी हुन्छ । केवल जनकपुरधाम मात्र होइन पूरै मिथिलावासीले भगवान् रामको स्वागतका गीत तथा भजन गाएर मनोरञ्जन लिन्छन् । 

दोस्रो दिन पनि विशेष कार्यक्रम आयोजना हुन्छ । जसलाई फूलबारी लीला भनेर मनाइन्छ । यसमा सीताजी आफ्ना पिताश्रीका बगैँचा या फूलबारीमा आफ्ना सङ्गिनीहरूसँग फूल टिप्न तथा गिरिजा महारानीको पूजा गर्न डुलिरहेकी हुन्छिन् । त्यत्तिकैमा रामचन्द्रजी आफ्ना भाइ लक्ष्मणसँगै धनुषवाण काँधमा बोकेर फूलबारीमा प्रवेश गर्छन् । त्यसपछि एक्कासि रामजीको नयन र सीताजीको नयन एकापसमा जुध्छ । जसलाई अङ्ग्रेजीमा ‘फस्ट लब एट साइट’ भनेर बुझिन्छ । एक प्रकारले दुवै जनाको पवित्र प्रेम भनौँ, त्यत्तिकै बेला भइहाल्छ, त्यसपछि धनुष–यज्ञको प्रसङ्ग तेस्रो दिन मनाइन्छ ।

तेस्रो दिनलाई धनुष यज्ञ नामले मनाइन्छ । जसको पृष्ठभूमिमा राजा जनकको दरबारमा कुलदेवको गृहमा ‘शिव धनुष’ राखिएको हुन्छ । जनक पुत्रीले सानैमा देवघरको लिपपोत गर्दा त्यो शिव धनुष उठाएर एक ठाउँबाट अर्को ठाउँमा राखेकी थिइन् । यो कुरा राजा जनकले थाहा पाउँदा अचम्मित भएर सीतालाई बोलाइ सोधेछन् । सीताले धनुष उठाएर आफूले फोहोर ठाउँ लिपपोत गरेको कुरा जनकलाई बताइन् । त्यसैदिन जनकले यो शिव धनुष जुन राजा वा महाराजाले उचालेर छोडी वाण चलाउन सक्छ उसैसित सीताको बिहे गरिदिने निधो गरे । यसै प्रतिज्ञानुकूल अनेक देशका राजा महाराजा त्यस दिन धनुष यज्ञमा आए । आफ्ना गुरु विश्वमित्रसँग राम लक्ष्मण पनि आएका थिए । 

दुवै जना दाजुभाइले फूलबारीमा घुमेर फर्केपछि दोस्रो दिन धनुष यज्ञमा सहभागी भए । जुन धनुष वीर महारथी वा राजामहराजाले पनि उठाउन सकेका थिएनन् । त्यसलाई ताँदोमा वाण चढाई रामचन्द्रजीले उचाल्न खोज्दा तीन टुक्रा भएको थियो । ती टुक्रामध्ये जुन टुक्रा जनकपुरबाट ६ कोष टाढा पूर्व उत्तरमा खसेको थियो, त्यही धनुषको नामबाट धनुषाधाम बनेको पौराणिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । यसै दिनलाई सीताको स्वयंवर समारोहका रूपमा मनाइन्छ । चौथो दिनलाई तिलक उत्सवका रूपमा मनाइने चलन छ । जसमा जानकी मन्दिरबाट राममन्दिरमा सातवटा विभिन्न परिकारका मिठाईका भारसहित रामजीलाई छेकास्वरूप पठाइन्छ । त्यही राम मन्दिर र जानकी मन्दिरका महन्थबीच एकआपसमा सम्धीमिलनको सुमधुर सम्बन्ध पनि भएको पाइन्छ ।

पाँचाँै दिन अति रोचक हुन्छ । यस दिन महिलाको सहभागिता बढी हुन्छ । जुन दिन मटकोर पनि मनाइन्छ । सीताजीलाई सम्पूर्ण सखीहरू मिलेर बाजागाजासहित गङ्गा सागरका मुहानमाथि गई विधिवत् रूपमा मटकोर मनाइन्छ । विवाहका खातिर सम्पूर्ण महिला सजिएर माटो लिन जान्छन् । यहाँ सीताजीको विशेष आरती पनि गरिन्छ । यसमा सम्पूर्ण टोलछिमेकलाई आमन्त्रण पनि गरिएको हुन्छ । गङ्गा सागरमा माटो लिन जाँदा र आउँदा विभिन्न लोकगीत गुञ्जिएका हुन्छन् । माटो लिन जाँदा सीताकी आमा सुनैना पनि अति सुन्दर बनेर हिँड्ने भएकाले सबैको आकर्षणको केन्द्र बन्थिन् । 

अर्थात् धनुष यज्ञका प्रदर्शनपछि छैठौँ दिन पुनः रङ्गभूमि मैदान बाह्र विघामा स्वयंवर समारोह देख्न पाइन्छ । अचेल मोटर कारमा बारात सजिएर महारथी तथा महापुरुष आउने गर्छन् । बाह्र विघामा राममन्दिर तथा सीता जानकीको मन्दिरका डोला प्रमुख सजिएर आएको देखिन्छ । सीता र रामका स्वरूपमा झाँकी र कीर्तनसहित स्वयंवर मालाफेर सम्पन्न गरिन्छ । आकाशबाट पुष्प गुच्छाको वर्षा पनि सरकारको तर्फबाट गरिन्छ, जुन पौराणिक कालमा ब्रह्मा, विष्णु महेश्वर सागर तर्दा इन्द्राशन स्वर्गबाट सम्पूर्ण देवलोक पुष्प गुच्छा वर्षा गरेको प्रतीकलाई झल्काउँछ । 

पहिला–पहिला केवल बाहै्र विघा तथा जानकी मन्दिरको ठीक उत्तरपट्टि रहेका कृतिम मण्डपमा धूमधामका साथ विवाह पञ्चमी मनाइन्थ्यो । असल विवाह मण्डपचाहिँ मणिमाण्डप जुन जनकपुरका कभर्ड हलदेखि उत्तर तथा पश्चिमतिर रहेको छ । त्यही मण्डपमा अचेल विशेष धूमधामका साथ विवाह पञ्चमी मनाइन्छ । वास्तविक विवाह मण्डप यहाँ नै हो, जहाँ मरवा भनेर सबै जनाले यो स्थानलाई पुज्छन् । 

यसै अवसरमा यहाँ प्रायः धनी वा गरिब समुदाय दुवै स्वेच्छाले वर–वधु प्रेम विवाहसरह अनेकौँ जोडाजोेडीको शुभ विवाह सम्पन्न गरिन्छ । विभिन्न सामाजिक तथा धार्मिक सङ्घ–संस्थाद्वारा अति विपन्न जोडाजोडीलाई विशेष वैवाहिक सामग्री प्रदान गरी गराई शुभ–विवाह सम्पन्न गराइन्छ । यही परम्परा र मान्यताको सम्मान गर्दै जनकपुरमा विगतभन्दा बढी पर्यटक पुग्ने गर्छन् । सरकारले उपलब्ध गराउने बजेटबाट दिनप्रति दिन यो मणिमण्डपलाई पनि आकर्षक तथा सुन्दर बनाइन्छ । त्यसैले त पर्यटकको आकर्षको केन्द्र बनेको हो । धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा पौराणिक कालको प्रमाणस्वरूप यो क्षेत्रलाई पुजिन्छ । जहाँ बेदी पनि स्थापित छ, जसलाई मरवा भनिन्छ । बेदी दर्शनले पुण्य प्राप्त भई दाम्पत्य जीवन सुखमय हुन्छ भन्ने धार्मिक मान्यता छ ।  

राम जानकीको स्वयंवरअघि विभिन्न प्रकारका गीत गाएर दुलाहा सरकार रामको स्वागत गरिन्छ । परीक्षणमा खासगरी दुलाहालाई विभिन्न गालीको प्रसङ्गबाट स्वागत गरिन्छ । रहीले दुवै गाला सेकिन्छ र गालीका गीत गाउँदा 

माई हे ऐहन सुन्दर बरवाके कजरो नही 

हिनका फुफू बेलुरीयाके लुरीयो नही 

माई हे ऐहन सुन्दर दुल्हाके तिलको नही 

हिनका मौसी बेलुरीयाके लुरीयो नही 

जस्ता सुन्दर रोमाञ्चक गीतबाट रामको परीक्षण तथा स्वागत पनि गरिन्छ । विवाह पञ्चमीले हाम्रो वैवाहिक जीवन कसरी सुखी र सम्पन्नशाली हुन सक्छ भन्ने अमूल्य सन्देश पनि दिइन्छ । रामचन्द्रझैँ हामी पनि आदर्श पुरुष बन्न सक्यौँ भने मात्र हाम्रा छोरीचेली पनि सीतासमान हुँदा रहेछन् भन्ने अनमोल सन्देश पनि विवाह पञ्चमीले दिने गरेको छ । यो धार्मिक परम्परा हाम्रो संस्कृति तथा रीतिरिवाजकै रूपमा सु–सम्पन्न हुने भएकाले हामीले यसको धार्मिक मूल्य मान्यतालाई सधैँ शिरोधार्य गर्नुपर्छ । अनि मात्र हाम्रो संस्कार जीवित हुनेछ । रीतिरिवाज संसारमा फैलिनेछ । यति हुँदा पनि धनुषाधाम किन आम पर्यटकीय स्थल हुन सकेको छैन ? भन्ने प्रश्न हाम्रासामु खडा छ । जनकपुर धाम धार्मिक तथा सांस्कृतिक धरोहर बन्यो भने यस क्षेत्रको मुहार बदलिनेछ । आशा गरौँ जनकपुर तथा जानकी मन्दिरजस्ता महान् धार्मिक स्थल र सांस्कृतिक धरोहर छिट्टै बल्र्ड हेरिटेजमा दर्ता गरियोस् । अनि मात्र जनकपुरबासीको छाती गर्वले प्रफुल्लित हुनेछ ।