• १० पुस २०८१, बुधबार

पढाइ जतातिर काम त्यतैतिर

blog

कर्मलाई शिक्षा र शिक्षालाई कर्मसँग जोड्नमा हामी सबैले चासो देखाउनु पर्छ । एआईको जमानामा केवल तीन घण्टा परीक्षामा लेखेको भरमा मात्रै विद्यार्थीको क्षमताको मापन गर्न थाल्यौँ भने विद्यार्थीको भविष्यमाथिकै खेलबाड हुन जान्छ । 

मैले चिनेको एक जना बहिनी स्नातक तहमा बिएड अध्ययन गरिरहेकी छन् । पढाइ कस्तो छ थाहा भएन तर काम गर्ने उनको शैली भने बेजोडको छ । उनी एउटा सहकारीमा बचत सङ्कलकका रूपमा काम गर्छिन् । आफ्ना ग्राहकसँग उनले गर्ने व्यवहारको सबैले प्रशंसा गरिरहेका हुन्छन् ।

त्यस्तै मेरो घरनजिकै बस्ने अर्को एउटा भाइ छन्, उनले वाणिज्य तथा व्यवस्थापनमा स्नातक गरिरहेका छन् । करिब दुई वर्षदेखि आफ्नो दैनिक गर्जो टार्न नजिकैको एउटा विद्यालयमा सानो कक्षामा उनले अध्यापन गराइरहेका छन् । 

 पढ्दै केही न केही काम गर्ने प्रचलन नयाँ होइन । इन्जिनियरिङ र चिकित्सासँगै केही विशिष्टिकृत प्राविधिक विषयबाहेक अधिकांश स्नातक तहमा अध्ययन गर्ने युवकयुवतीले पढाइ सँगसँगै केही न केही काम गरिरहेको देख्न सकिन्छ । सामान्यतया उनीहरूले आफूलाई पढ्ने खर्च उठाउन पनि काम गरिरहेका हुन्छन् । पढेर बचेको समयलाई सदुपयोग गर्दै आफूलाई व्यस्त राख्न काम गर्नुलाई राम्रो नै मान्न सकिन्छ । माथि उल्लेख गरिए जस्तो काम गर्ने प्रवृत्तिले भने केही दिनको गर्जो त टार्ला, केही समय काममा व्यस्त त बनाउँला तर त्यसले जीवनमा केही विशेष खालको परिवर्तन भने ल्याउन सक्दैन । 

पढ्दै कमाउँदै भन्दैमा आफ्नो विज्ञताभन्दा बाहिरको काम गर्नु त्यति धेरै प्रत्युपादक देखिँदैन । अहिले अधिकांश युवकयुवतीले गरेको कमजोरी या गल्ती भनेको नै यही हो । शिक्षा सङ्कायमा पढेको मान्छेले अध्यापन गरायो भने मात्रै उसले आफ्नो करिअरलाई उच्च तहमा पु¥याउन सक्छ । त्यसै गरी व्यवस्थापन पढेको मान्छेले व्यवस्थापन क्षेत्रमा केही काम ग¥यो भने मात्रै उसले चाहेको जस्तो उन्नती प्रगति गर्न सक्छ । काम पाइयो भनेर आफ्नो क्षेत्रभन्दा बाहिर ग¥यौँ भने हामी कहिल्यै पनि गतिलो ठाउँमा पुग्न सक्दैनाँै । कामबाट पाएको अनुभवलाई विज्ञताले सिँगार्ने अवसरबाट हामी सधैँ वञ्चित हुने गर्दछौँ । न हामीलाई हामीले गरिरहेको काममा विज्ञता हुन्छ न त पढेको कुरामा सिप नै हुने गर्छ । 

हाम्रा विश्वविद्यालयका पाठ्यव्रmमले विद्यार्थीलाई कर्मसँग जोड्ने गरी परिकल्पना गर्न सकेका छैनन् । स्नातक तहको अन्तिम समयमा एक महिनाजसो पढाएको भरमा शिक्षा सङ्कायको विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । अर्थात् विद्यार्थीलाई कक्षाकोठामा व्यावहारिक ढङ्गले जोड्ने काम विश्वविद्यालयले गर्न सकेका छैनन् । शिक्षा सङ्कायमा भर्ना भएको पहिलो दिनदेखि अन्तिम परीक्षा नदिँदासम्मका लागि विद्यार्थीले अनिवार्य रूपमा विद्यालयमा पढाउनु पर्छ भन्ने कुरालाई प्राथमिकतामा राख्यौँ भने कसरी गुणात्मक शिक्षक उत्पादन हुन सक्दैन ? 

व्यवस्थापन तथा वाणिज्य सङ्कायमा अध्ययन गर्ने विद्यार्थीले अनिवार्य रूपमा व्यवसाय व्यवस्थापन तथा वाणिज्य क्षेत्रमा काम गर्ने बनाउन सक्यौँ भने आफूले अध्ययन गरेको तह पूरा हुँदासम्म उसले आफ्नो क्षेत्रमा धेरै ज्ञान हासिल गरिसकेको हुन्छ । पढेको कुरा गर्दा र गरेको कुरा पढ्दा विद्यार्थीमा अध्ययनप्रति उत्साह पनि थपिने गर्छ । 

एकातिरको पढाइ अनि अर्कातिरको कामले व्यक्तिलाई सदैव तनावमा राखेको हुन्छ । विद्यार्थीको मनोविज्ञानका बारेमा बिहान कक्षा लिएर दिउँसो ग्राहकको मनोविज्ञानसँग काम गर्नु पर्दा व्यक्तिमा तनाव सिर्जना हुन्छ । कतिपयलाई मनोरोग समेत लाग्न सक्छ । कलेजमा पढेको कुरा काममा कतै पनि जोडिएको हुँदैन भने काम गरिरहेको कुरा पढाइसँग कतै पनि जोडिएको हुँदैन । एउटै पढाइ र काम भयो भने विद्यार्थीले आफूले गरेको काम र पढाइका बिचमा समानता हुने हुँदा रमाउने गर्छन् । थप नयाँ कुरा सिक्नका लागि उत्प्रेरित हुने गर्छन् । यसका साथै काम र अध्ययन सँगसँगै हुँदा करिअरका हिसाबले पनि फड्को मार्ने अवसर धेरै हुने गर्छ ।

कमजोरी कसको ?

सामान्यतया काम र पढाइमा बिचमा सन्तुलन ल्याउन नसक्नुमा स्वयम् व्यक्तिकै कमजोरी हो । आफूले जानेको र विज्ञता भएको विषयसँग सम्बन्धित काम नगर्नुले विद्यार्थी आफ्नो करिअरप्रति गैरजिम्मेवार भएको बुझ्न सकिन्छ । प्राथमिकता निर्धारणमा व्यक्तिले गरेको कमजोरीका कारणले गर्दा उसको सिङ्गो भविष्यमा त्यसले असर पारिरहेको हुन्छ । अध्ययन र कामको बिचमा सन्तुलन नमिल्दा पढाइको गुणस्तरमा कमी आउने गर्छ । यस कारण स्वयम् व्यक्ति नै के गर्ने भन्ने बारेमा चिन्तनशील हुनु आवश्यक छ । आफूलाई बचत उठाउन रहर लाग्छ भने किन शिक्षा सङ्काय पढ्ने बचत उठाउने कार्यालयको प्रमुख नै हुने गरी व्यवस्थापन पढ्ने नि । 

दोस्रो कुरा भनेको परम्परागत ढङ्गले सञ्चालन भएका शिक्षण संस्था या समयानुकूल परिवर्तन हुन नसक्ने पाठ्यव्रmम हो । हाम्रा पाठ्यव्रmमले सिप र कामलाई प्राथमिकतामा राखेको पाइँदैन । ज्ञानले भन्दा पनि सिपले व्यक्तिलाई अगाडि बढाउने गर्छ । कागजका पानामा विज्ञता छाँटेर मात्रै पनि शिक्षाको खास उद्देश्य प्राप्त हुन सक्दैन । यस कारण स्नातक तहका हरेक कार्यव्रmममा पहिलो दिनदेखि नै विद्यार्थीलाई अनिवार्य काम गर्नै पर्नेमा जोड दिनु पर्छ । यसले एकातिर विद्यार्थीको ड्रप आउट रोक्नुका साथै आर्थिक बोझ कम गर्न र सिप सिक्न मद्दत गर्छ । काम र पढाइका बिचमा एकरूपता ल्याउन सकियो भने त्यसले विद्यार्थीलाई काममा दक्ष र विज्ञ बनाउँदै लैजान्छ । 

तेस्रो कुरा भनेको विभिन्न सङ्घ संस्थाको पनि हो । अहिले निजी सङ्घ संस्थाले सम्बन्धित विषयको विज्ञता र जानकारीबिना नै काममा लगाउने गरेको देखिन्छ । कम्तीमा पढाउनका लागि शिक्षा पढेको मान्छे मात्रै खोजियो र कार्यालयको लेखा हेरिदिनका लागि व्यवस्थापन सङ्कायको विद्यार्थी नै खोजियो भने त्यसले विद्यार्थीलाई आफ्नो शैक्षिक अध्ययन अनुसारको काम गर्न बाध्य बनाउँछ । फेरि विद्यार्थीले आफूले पढेकै विषयमा आधारित भएर काम गर्न थाल्यो भने कार्यसम्पादन पनि प्रभावकारी भई संस्थाको गरिमा पनि उँचो हुने गर्छ । यसबाट संस्था र व्यक्ति दुवैलाई फाइदा पुग्छ । 

सरकारले विद्यार्थीलाई पढ्दै उद्यमशील बनाउन भनेर विद्यालय तहदेखि नै पढ्दै कमाउँदै कार्यव्रmम सञ्चालन गरिरहेको छ । यस कार्यव्रmमले विद्यार्थीलाई आफूले अध्ययन गरिरहेको विषयसँग सम्बन्धित भएर काम गर्नका लागि प्रेरित पनि गरिरहेको छ । खास गरेर प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीका लागि यस खालको कार्यव्रmम सञ्चालन गरिएको छ । यसले कैयौँ विद्यार्थीलाई सानै उमेरमा उद्यमशील बनाउन मद्दत पनि गरिरहेको छ । यो सकारात्मक कदम पनि हो । यस्तो कार्यव्रmममा विद्यार्थीले अध्ययन गरिरहेको विषय र कामका बिचमा तारताम्य मिल्ने भएको हुँदा विद्यार्थीमा आत्मविश्वास र विज्ञताको पनि वृद्धि हुँदै जाने देखिन्छ । 

विश्वविद्यालय तहमा पनि अब यो खालको कुरालाई प्राथमिकतामा राखेर अध्यापन गराउनुपर्ने हुन्छ । विद्यार्थी घटे भनेर कोकोहोलो गर्नुभन्दा हाम्रा कमजोरी के हुन् भनेर समीक्षा गर्दै अगाडि बढ्नु आवश्यक छ । केही समययताको अवस्थालाई मूल्याङ्कन गर्ने हो भने स्नातक तहमा विद्यार्थीको भर्ना दर निकै दयनीय छ । 

अझ यसमा भर्ना भएको विद्यार्थीको ड्रप आउट त कहालीलाग्दो नै छ । यसलाई रोक्ने अचुक उपाय भनेको विषय अनुसारको इन्टर्नसिप नै हो । अब स्नातक तहका कार्यव्रmममा विद्यार्थीलाई पहिलो दिनदेखि नै हामीले काममा लगाउने खालको प्रणाली विकास गर्नु पर्छ । 

कर्मलाई शिक्षा र शिक्षालाई कर्मसँग जोड्नमा हामी सबैले चासो देखाउनु पर्छ । एआईको जमानामा केवल तीन घण्टा परीक्षामा लेखेको भरमा मात्रै विद्यार्थीको क्षमताको मापन गर्न थाल्यौँ भने विद्यार्थीको भविष्य माथिकै खेलबाड हुन जान्छ । विद्यार्थीले दिमागमा कति राखेको छ भन्ने कुरासँगै हातमा कति सिप छ भन्ने कुरालाई पनि मूल्याङ्कनको आधार बनाएर विश्वविद्यालयहरूले पाठ्यव्रmमलाई परिमार्जन गर्नु आवश्यक छ । अन्यथा शिक्षा क्षेत्रमा फैलिएको यो विकराल अवस्थाले थप उचाइ लिने छ । 


Author

वसन्त आचार्य