• १२ साउन २०८१, शनिबार

ताप्लेजुङमा ३१ जनाले त्यागे नेपाली नागरिकता

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १२ गते। ताप्लेजुङबाट एकतिस जनाले नेपाली नागरिकता त्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नेपाली नागरिकता प्राप्त गरेका उक्त सङ्ख्यामा यहाँका नागरिकले नागरिकता त्याग गरेका हुन्।

जिल्ला प्रसाशन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार नेपाली नागरिकता लिएका हालसम्म ३१ जनाले त्याग गरेका हुन्। नागरिकता ऐन २०६३ जारी भएपछि नागरिकता प्राप्त गरेका नेपाली नागरिकले नागरिकता त्यागेका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो।

उहाँकाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा पाँच जनाले नागरिकता त्यागेका छन्। गत आवभन्दा अघि २६ जनाले नेपाली नागरिकता त्याग गरेका थिए। नेपाली नागरिकता त्याग गर्नेमध्ये अधिकांश बेलायत, हङ्कङ र भारत सहितका देशमा बसोबास गर्दै आएका छन्। नेपाल बाहिर बसोबास गर्दै आएकाले नेपाली नागरिकता प्रमाणपत्र त्याग गर्नुपरेको उनीहरुले कारण उल्लेख गरेका छन्।

यता गत आवमा जिल्ला प्रशासन कार्यालयबाट तीन हजार ७२६ जनालाई नागरिकता वितरण गरिएको छ। जसअनुसार छ जनालाई गैर आवासीय नागरिकता, १३ जनालाई वैवाहिक अङ्गीकृत र बाँकी तीन हजार ७०३ जनालाई बंशजको आधारमा नेपाली नागरिकता प्रदान गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो। उहाँकाअनुसार गत आवमा दुई हजार ६४६ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ।