• १३ असोज २०८१, आइतबार

दनुवार सङ्ग्रहालय निर्माण अलपत्र

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, मङ्सिर १२ गते । सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको दनुवार समुदायको कला, संस्कृतिको संरक्षण र संवद्र्धन गर्न निर्माण सुरु गरिएको दनुवार कला सङ्ग्रहालय बजेट अभावमा अलपत्र बनेको छ।

दनुवार जागरण समितिले २०७६ सालमा नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण सुरु गरिएको उक्त सङ्ग्रहालयको काम अहिले बजेट अभावमा अघि बढ्न सकेको छैन। सिन्धुली जिल्लाको दुधौली नगरपालिका–५, सिर्थौलीमा पाँच हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुन लागेको दनुवार कला सङ्ग्रहालयको डीपीआरअनुसार निर्माण लागत ११ करोड ६९ लाख रुपियाँ रहेको समितिले जनाएको छ।

समितिका सचिव सुमन चौधरीका अनुसार सङ्ग्रहालयलाई राष्ट्रियस्तरको बनाउने लक्ष्य छ। सङ्ग्रहालय निर्माण समितिका उपाध्यक्ष रामदेव अधिकारी दनुवारले पाँच कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ। सङ्ग्रहालय बनाउन हालसम्म बागमती प्रदेश सरकारले २५ लाख र दुधौली नगरपालिकाले १५ लाख रुपियाँ उपलब्ध गराएको छ।

थप बजेट माग गरी बागमती प्रदेश पर्यटन मन्त्रालयमा डीपीआर पेस गरेर धाइरहे पनि अहिलेसम्म सुनुवाइ नभएको समितिका सचिव चौधरीको गुनासो छ। उहाँका अनुसार दुधौली नगरपालिकाको करिब चार लाख रुपियाँ सहयोगमा कमला इन्जिनियरिङ कन्सल्टेन्सीले डीपीआर तयार गरेको हो।

सङ्ग्रहालयका दुईवटा हलमा मौलिक कला, संस्कृति झल्किने सामान राखिनेछ। एउटा पुस्तकालय, कला, संस्कृतिलाई भिडियोमा देखाउन मिल्ने गरी थिएटर रहनेछ। यस्तै कार्यालय कोठा, बैठक कोठा, टिकट काउन्टर, पार्किङ स्थल, बगैँचालगायतका संरचना सङ्ग्रहालयको बाहिरी भागमा रहने गरी डीपीआर तयार गरिएको समितिले जनाएको छ।

दनुवार जातिको कला, संस्कृति, संस्कार, परम्परा, वेशभूषा लोप हुँदै गएकाले सङ्ग्रहालय निर्माण गरी सङ्ग्रह गरेर राख्न लागेको दनुवार समुदायका अगुवा तथा पूर्वसांसद विषमलाल अधिकारी दनुवारले सुनाउनुभयो।  

उक्त सङ्ग्रहालय बनाउन प्रदेश सरकारले आश्वस्त पारेकाले त्यहीअनुसार आफूहरू पनि अघि सरेको उहाँले बताउनुभयो। “पैसा जुटेपछि सङ्ग्रहालय निर्माण अघि बढ्छ”, 

उहाँले भन्नुभयो।