• १३ असोज २०८१, आइतबार

प्रदेशका मन्त्रीदेखि पूर्वसभामुखसम्म पराजित

blog

राममणि दाहाल 

हेटौँडा, मङ्सिर १२ गते । गत आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बागमती प्रदेशका वर्तमान मन्त्रीदेखि निवर्तमान सभामुखसम्म पराजित हुनुभएको छ।

वर्तमान १८ सदस्यीय मन्त्रिमण्डलका मुख्यमन्त्रीसहित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा गरी आठ मन्त्री उम्मेदवार बनेकामा एक मात्र मन्त्री पराजित हुनुभएको छ। 

नेकपा (माओवादी केन्द्र)बाट चितवन जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को (क)मा प्रदेश सभा सदस्य उम्मेदवार बन्नुभएका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल नेकपा (एमाले)का कृष्णप्रसाद सिलवालसँग पराजित हुनुभएको हो। तीन मुख्यमन्त्री पाएको यस प्रदेशका दुई पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामै आउनुभएन। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ बाट सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)को उम्मेदवार बनेर निर्वाचित हुनुभएको छ।

यस्तै वर्तमान मन्त्रिमण्डलका मन्त्रीहरू शालिग्राम जम्कट्टेल, कुमारी मुक्तान, रत्नप्रसाद ढकाल, कृष्णप्रसाद शर्मा खनाल, वसन्तप्रसाद मानन्धर र दीपेन्द्र श्रेष्ठ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ।

जम्कट्टेल, मुक्तान र ढकाल माओवादी केन्द्रबाट; खनाल र मानन्धर एकीकृत समाजवादीबाट तथा श्रेष्ठ नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो।

पूर्वमन्त्री युवराज दुलाल प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनुभएको छ। उहाँ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ (क)बाट विजयी हुनुभएको हो।

यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नं. २ को (क)बाट प्रदेश सभा सदस्यमा एमालेबाट उम्मेदवार बन्नुभएका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसीबाट पराजित हुनुभएको छ। श्रेष्ठले एमालेबाट मुख्यमन्त्रीको दाबी गर्दै आउनुभएको थियो। निवर्तमान उपसभामुख राधिका तामाङ नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को (क)बाट निर्वाचित हुनुभएको छ।

यसैगरी प्रतिनिधि सभा सदस्यमा एमालेबाट उम्मेदवार बनेर चार जना प्रदेशका पूर्वमन्त्री पराजित हुनुभएको छ। प्रतिनिधि सभा सदस्यमा पराजित हुनेमा रामेछाप जिल्लाबाट कैलाशप्रसाद ढुङ्गेल, सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ बाट सरेस नेपाल, सिन्धुली जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ बाट प्रदीपकुमार कटुवाल क्षेत्री र नुवाकोट क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएका पूर्वराज्यमन्त्री बद्री मैनाली हुनुहुन्छ। 

प्रदेशका पूर्वमन्त्रीहरू अरुण नेपाल, दावादोर्जे लामा, रचना खड्का, डा. अजयक्रान्ति शाक्य, सरस्वती बस्नेत, राज्यमन्त्रीहरू जीवन खड्का, सरस्वती बाटी र जुनेली श्रेष्ठ यो पटक उम्मेदवार नै बन्नुभएन। 

प्रदेश सभा सदस्यमा एमालेबाट उम्मेदवार बनेर पराजित पूर्वमन्त्रीहरूमा नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. २ को (क)बाट केशवराज पाण्डे, रामेछापको प्रदेश सभा क्षेत्र (क)बाट शान्तिप्रसाद पौडेल, काभ्रे क्षेत्र नं. (ख)बाट चन्द्रबहादुर लामा, काठमाडौँ क्षेत्र नं. ३ (ख)बाट रामेश्वर फुयाल र धादिङ क्षेत्र नं. २ (क)बाट पूर्वराज्यमन्त्री डा. रामकुमार 

अधिकारी हुनुहुन्छ।

यसैगरी वर्तमान मन्त्रिमण्डलका मन्त्रीहरू कृष्णलाल भडेल, निमा लामा, विशाल खड्का, बसुन्धरा हुमागाईं, बलराम पौडेल, मिलनबाबु श्रेष्ठ तथा राज्यमन्त्रीहरू इन्द्रमाया गुरुङ, सन्तबहादुर प्रजा, रजनी जोन्छे अमात्य र कल्पना नेपालीले पार्टीबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा आआफ्ना पार्टीबाट उम्मेदवारी नै पाउनु भएन।

तत्कालीन मुख्यमन्त्री पौडेलसँगको विवादपछि मन्त्रीबाट हटाइनुभएका केशव स्थापित प्रदेश सभा सदस्यबाट राजीनामा दिएर गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट काठमाडौँ महानगरपालिकाका नगर प्रमुखमा उम्मेदवार बन्नुभयो। 

त्यस्तै पूर्वमन्त्री विजय सुवेदीसमेत प्रदेश सभा सदस्यबाट राजनीनामा दिएर भरतपुर महानगरपालिकाको नगरप्रमुख उम्मेदवार बन्नुभएकोमा स्थापित र सुवेदी दुवै नगरप्रमुखमा पराजित हुनुभएको थियो।