• १३ असोज २०८१, आइतबार

तल्ला कक्षामा पढाउने शिक्षक अभाव

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, मङ्सिर १२ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशमा विद्यालय तह (कक्षा ११ र १२)मा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभएको छ। 

काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा निर्माण भएको वातावरण विभागको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीलाई तल्लो तहदेखि नै गुणस्तरयुक्त बनाउनुपर्ने भए पनि यही तहमा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभयो। 

शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग पटक–पटक यो तहका शिक्षकको व्यवस्थापन गर्ने कोसिस गरे पनि त्यो पूरा हुन नसकेको उहाँले बताउनुभयो। मन्त्री पौडेलले भन्नुभयो, “विद्यालय तहमा पढ्ने विद्यार्थीलाई तल्लो तहदेखि नै गुणस्तरीय बनाएर ल्याउन विश्वविद्यालयहरूको ध्यान जान जरुरी  छ।”

उहाँले प्राविधिक, विद्यालय र उच्च शिक्षालाई एकैसाथ अघि बढाउनुपर्ने बताउँदै तीनै तहको शिक्षालाई एकअर्कामा जोडेर, एकअर्काको विषय थाहा पाएर समग्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

उहाँले विश्वविद्यालयको मान्यताअनुसार विश्वविद्यालय खोल्नका लागि ऐन बनाउन बृहत् छलफल चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सचिव डा. शङ्कर भण्डारीले पछिल्लो समय युवा जनशक्ति शिक्षाकै लागि बाहिरिने क्रम बढेको बताउनुभयो। 

उहाँले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेकाले विश्वविद्यालयहरूले यसमा ध्यान दिनुपर्ने भन्दै विश्वविद्यालय स्थापनाका लागि एउटा मापदण्ड बनाउन आयोग लागेको बताउनुभयो। 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले पछिल्लो समय विश्वविद्यालयले सञ्चालन गरेका नयाँ शैक्षिक कार्यक्रमहरूबारे जानकारी दिनुभएको थियो।