• १३ साउन २०८१, आइतबार

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको हर्षोल्लास

blog

विवाहपञ्चमीको पूर्वसन्ध्यामा झिलिमिली पारिएको जनकपुरधामको जानकी मन्दिर । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, मङ्सिर ११ गते । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी सीताबीच विवाह भएको दिनको सम्झनामा जनकपुरधाममा सप्ताहव्यापी मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लासपूर्वक मनाइँदैछ । 

जनकपुरधामको जानकी मन्दिरलाई झिलीमिली पारी बेहुलीझैँ सजाइएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको बाह्रबिघा रङ्गभूमि मैदानमा सोमबार दिउँसो रामसीताको स्वयम्बर हुने र राति मैथिल वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो । 


स्वयम्बरका लागि जनकपुरधामको राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट माता जानकीको डोला बाह्र बिघा रङ्गभूमि मैदानमा जाने गरेको र त्यहाँ हजारौँ श्रद्धालुबीचमा स्वयम्बरकाे कार्यक्रम हुने महन्थ दासले बताउनुभयो । 

आइतबार वैवाहिक कार्यक्रमका लागि वेदी तयार पार्न जनकपुरधामको गङ्गा सागरबाट माटो ल्याएर मटकोर कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बाजागाजाका साथ निस्किएका साधुसन्त र मैथिल महिलाको समूहले गङ्गासागर पोखरीबाट माटो कोरी ल्याएका छन् ।

उक्त स्थानमा विभिन्न खालका गीतनादहरु पनि प्रस्तुत गरिएको थियो । यस अघि तिल्कोत्सव, धनुष यज्ञ, फूलवारी लीला र नगर दर्शनको कार्यक्रम सम्पन्न भइसकेको छ ।जनकपुरधामको विभिन्न मठमन्दिरमा श्रद्धालुहरुको भीड लागेको छ ।


विवाह पञ्चमीमा सहभागी हुन लाखौंको सङ्ख्यामा तीर्थालुहरु अहिले जनकपुरधाम आएका छन् । ठाउँ ठाउँमा उनीहरुको बासका लागि टेन्ट पण्डालहरु लगाइएको छ । अन्य वर्ष कोरोना महामारीका कारण प्रभावित हुँदै आएको महोत्सव भने यस वर्ष अलि रौनकता छाएको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले बताउनुभयो । 

उहाँले नगर क्षेत्रको सरसफाइसहित विवाहपञ्चमीमा सहभागी हुन आउने श्रद्धालुहरुका लागि नगरपालिका र स्थानीय युवा क्लबहरुले वासको व्यवस्थापन मिलाएको बताउनुभयो ।

ठाउँ ठाउँमा अस्थायी शौचालय निर्माणका साथै पिउने पानीको व्यवस्थापन गरिएको बताउनुभयो । विवाहपञ्चमीमा आउने भारतीय पर्यटकहरुलाई ध्यानमा राखेर नेपाल रेल्वेले आफ्नो सेवालाई बढाएको छ  । 


नेपाल रेल्वेले दुई पटक सेवा दिँदै आएको बिजलपुरा जनकपुर जयनगर रेलसेवा अहिले तीनपटक सञ्चालनमा ल्याइएको छ । स्थानीय प्रशासनले विवाहपञ्चमीलाई दृष्टिगत गरी जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारेको छ । नगर क्षेत्रमा एक हजारभन्दा बढी प्रहरी परिचालन भएको र सादा पोसाकमा प्रहरी परिचालन गरिएको धनुषाका प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिनुभयो । बिहीबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।