• १३ असोज २०८१, आइतबार

घरभित्र आगो बाल्दा झ्याल ढोका खोल्न आग्रह

blog

काठमाडौं, मङ्सिर ११ गते । सरकारले आगो बालेर घरभित्र बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले  सूचना जारी गर्दै देशैभरि चिसो बढ्दै गएकाले घरभित्र आगो बालेर बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गर्नुभएको हो । 

उहाँले भन्नुभयो, “बढी चिसो हुने ठाउँमा दाउरा बालेर घरभित्र बस्दा अक्सिजनको अभावले निसासिएर धेरैले ज्यान गुमाएका घटना बाहिर आउने गरेका छन् । त्यसैले घरभित्र आगो बालेर बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गर्दछु ।”  

डा. भट्टराईले चिसोमा हिमपात पर्नसक्ने भन्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन र घरभित्रै न्यानो लुगा लगाएर र तातो खानेकुरा खाएर घरभित्रै बस्न सुझाव दिनुभएको छ ।  

यस्तो मौसममा बालबालिका,गर्भवती, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरु चिसोबाट बढी प्रभावित हुने भएकाले उहाँहरुको विशेष ख्याल गर्न उहाँको आग्रह छ ।