• १३ असोज २०८१, आइतबार

मध्यपहाडी लोकमार्गः डेढ दशक बित्दा पनि एक तिहाई काम बाँकी

blog

विष्णु पाण्डेय

काठमाडौं, मङ्सिर ११ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माण प्रारम्भ भएको डेढ दशक बिते पनि अझै काम सम्पन्न हुन सकेको छैन । 

आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको यस आयोजना १० वर्षमा सक्ने लक्ष्य रहेको थियो । तर तोकिएभन्दा पाँच वर्ष बढी समय बिते पनि अझै एक तिहाई काम बाँकी छ । 

२०७४/७५ मा निर्माण कार्य सम्पन्न गर्ने रहे पनि तोकिएको समयमा निर्माणकार्य नसकिएपछि पाँच वर्ष म्याद थप भएको थियो । जसका अनुसार अबको एक वर्ष मात्र बाँकी छ । तर बाँकी रहेको काम अबको एक वर्षमा सम्पन्न गर्न भने असम्भव जस्तै छ । मध्यपहाडी लोकमार्ग आयोजनाका अनुसार अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति ६४.१६ प्रतिशत भएको छ । यस आयोजनाको वित्तीय प्रगति भने ६९.७६ प्रतिशत रहेको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख हरिकुमार पोखरेलका अनुसार यो आयोजनाको प्राविधिक कामहरु पूरा गर्न ढिलाइ भएका कारण काम समयमा सम्पन्न हुन नसकेकाे हो । 

उहाँले भन्नुभयो, ‘यो राजमार्ग निर्माणको क्रममा सुरुको चरणमा केही प्राविधिक काम पूरा गर्न नै ढिला भएकाले काममा ढिलाइ भएको हो ।’ 

निर्माण सामग्रीको अभाव र उत्खनन विवादका कारणले पनि काममा सुस्तता आएको हो । 

यस्तै, यस आयोजना निर्माणका क्रममा मुआब्जा र क्षतिपूर्ति विवाद भएकाले पनि निर्माणकार्य ढिला भएको हो । 

उहाँले भन्नुभयो, ‘आयोजना निर्माणको क्रममा मुआब्जा वितरण र र क्षतिपूर्ति विवादका कारणले पनि आयोजना निर्माणका क्रममा केही ढिला भएको हो । कतिपय क्षेत्रमा पक्की घरहरु पर्ने भएकाले घर हटाउनको लागि क्षतिपूर्ति धेरै माग्ने कारणले पनि आयोजनामा ढिलाइ भएको हो ।’ 

विश्व बैंक अन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन आइडीएबाट ऋण लिएर बनाइँदै आएको यस सडक समयमै निर्माण पूरा नहुँदा लागत झण्डै तेब्बरले वृद्धि भएको छ । सुरुमा यसको लागत मूल्य ३३ अर्ब रुपियाँ रहेको यसको लागत मूल्य बढेर अहिले ८४ अर्ब पुगेको छ । 

यस आयोजनामा अहिलेसम्म ५५ अर्ब खर्च भइसकेको छ । 

कुल एक हजार ८७९ किमीमध्ये एक हजार २५९ किमी सडक कालोपत्रे सम्पन्न भएको आयोजनाले जनाएको छ । 

यस्तै, यस आयोजना अन्तर्गत कुल १३७ वटा पुल पर्दछन् । जसमध्ये अहिलेसम्म ९३ वटा पुल निर्माण भएका छन् । 

४१५ किमी सडक  र २५ वटा पुलहरु निर्माणाधीन अवस्थामा छन् । यस्तै, बाँकीमध्ये २०५ किमी सडक र १९ वटा पुलको ठेक्का लाग्न बाँकी रहेको उहाँको भनाइ छ । 

आयोजना प्रमुख पोखरेलका अनुसार यस आयोजनाको चालू आर्थिक वर्षमा ३०५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य  छ । यस्तै, १८ वटा पुलहरु पनि निर्माण सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

ठेक्का लाग्न बाँकी रहेको सडकमध्ये १३५ किलोमिटरको ठेक्का लगाउने योजना छ । यस आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रूपियाँ छ ।